व्यक्तिगत सम्पर्कको भरमा चियाको व्यापार


१९ बैशाख २०७६, बिहीबार
save 1

काठमाडौं (इलाम), १९ बैसाख । लिलाम बिक्री प्रणाली नहुँदा पूर्वी पहाडका चिया किसान तथा उद्यमीले आफ्नो उत्पादन विक्री गर्न समस्या खेप्नु परिरहेको छ ।

चिया विक्रीका लागि लिलाम विक्री प्रणाली नहुँदा पूर्वका चिया उद्यमीले व्यक्तिगत सम्पर्कको भरमा उत्पादित चिया बेच्नु परिरहेको छ । व्यक्तिगत सम्पर्कको भरमा चिया बेच्नु पर्दा किसान तथा उद्यमीले चियाको राम्रो भाऊ समेत पाउन सकिरहेका छैनन् । नेपाली चियाको प्रमुख बजार भारतको कोलकातामा रहेको चिया बोर्डको लिलाम बिक्री केन्द्रमा नेपालीले भाग लिन पाउँदैनन् । उद्यमीका अनुसार कोलकाताको लिलाम केन्द्रमा भाग लिन पाउने हो भने नेपाली चियाले दोब्बर मूल्य पाउँछ ।

Tea Prosessing

अहिलेसम्म व्यक्तिगत सम्पर्कका आधारमा तेश्रो मुलुकका क्रेताहरु नेपालका बगान–बगानमा आएर तयारी चिया खरिद गर्छन् । ‘धेरैजसोलाई त नमुना पठाएर किन्न अनुरोध गर्नुपर्छ,’ हिमालयन सांग्रिला टी प्रोड्युसर्स प्रालिका प्रवन्धक आरसी मैनालीले भने । नेपालमा उत्पादित अधिकांश तयारी अर्थोडक्स र सीटीसी चिया कोलकातामार्फत बिक्री हुन्छ ।

त्यहाँ सोझै लिलाम प्रणालीमा सहभागी हुन नपाउनाले नेपाली उद्यमीले दलालहरुलाई घटाघटमा चिया बिक्री गर्दै आएका छन् । ‘भारतीय चिया बिक्री भइसकेपछि मात्र दलालहरुले नेपाली चिया किन्छन् र मूल्य पनि कम दिन्छन्’–इलामको जस्वीरेस्थित सन्दकफु चिया कारखानाका शरद सुब्बाले सुनाए । दलालले किनेको नेपाली चिया भारतकै लोगोमा बजारमा जान्छ । भारतमा उत्पादित चियामध्ये ७५ प्रतिशत भारतमै, श्रीलंकामा ९० प्रतिशत र केन्यामा ८५ प्रतिशत चिया लिलाम प्रणालीबाटै बिक्री गर्ने प्रावधान छ ।

tea bagan

सरकारले २०५७ सालमा तयार गरेको राष्ट्रिय चिया नीतिमा लिलाम बिक्री प्रणालीका लागि पूर्वाधार तयार गर्ने उल्लेख गरे पनि अहिलेसम्म केही नभएको उद्यमीको गुनासो छ । चिया उद्यमी कमल मैनालीले लिलाम प्रणाली भएपछि बढाबढमा चिया बिक्री हुँदा किसानले बढी मूल्य पाउने दाबी गरे । ‘नेपाली चियाले अन्तर्राष्ट्रियस्तरमा छुट्टै पहिचान बनाउँदैछ तर क्रेताहरु यहाँ आएर किन्ने निश्चित ठाउँ छैन’–उनले भने । इ–विडिङको प्रचलन आएकाले लिलाम बिक्री प्रणाली हुँदा विभिन्न मुलुकका क्रेताले उतै बसेर पनि बढाबढमा नेपाली चिया खरिद गर्न सक्दछन् ।

उद्यमीले कोलकताको लिलाम केन्द्रमा सहभागिताको अनुमतिको लागि पनि पटक–पटक माग गरे पनि पाएका छैनन् । राष्ट्रिय चिया तथा कफी विकास बोर्डका अनुसार १० वर्षअघि भारतीय सरकार र भारतीय चिया बोर्डले नेपाली चियालाई कोलकाताको लिलाम केन्द्रमा सहभागी हुन दिने निर्णय गरे पनि तत्कालीन दार्जिलिङ प्लान्टर्स एशोसिएसनको विरोधका कारण कार्यान्वयन भएन । कलिलो र धेरै खाले जातका बोटबाट तयार भएको राम्रो गुणस्तरको नेपाली चियाले दार्जिलिङको चियाको बजारमा असर पर्ने डरले एशोसिएसनले विरोध गरेको हुनसक्ने बोर्डको अनुमान छ ।

Tea Udhami

इलामका २६ वटा चिया कारखानामा साना कृषकको चिया किनेर प्रशोधन गर्छन् । जिल्लामा पाँच हजार साना चिया किसानले ३ हजार ७९४ हेक्टर क्षेत्रमा यसको खेती गर्छन् । कृषकहरुले बार्षिक रुपमा ११ लाख २९ हजार १० किलो चिया उत्पादन गर्ने गरेको चिया तथा कफी विकास बोर्डले जनाएको छ । इलाममा मात्रै २० वटा ठूला अर्थोडक्स चिया कारखाना छन् भने साना कारखाना समेत सञ्चालनमा छन् ।

इलाममा नेपाल स्मल टी प्रोडयुसर प्रालि, ग्रिन टी प्रोडयुसर प्रालि, हिमालयन रेञ्ज चिया उद्योेग प्रालि पञ्चकन्या, इलाम टी प्रोड्युर्सस प्रालि श्रीअन्तु, कन्याम चिया कमान, गोर्खा टी स्टेट गुराँसे, माइपोखरी टी इण्डष्ट्रिज प्रालि, चिलिङकोट चिया कमान साँखेजुङ्ग, मंगल चिया उद्योग प्रालि, सिद्धिविनायक टी स्टेट प्रालि, इलाम चियाबारी र ग्रिन भ्याली टी इण्डष्ट्रिज प्रालिलगायतले अर्थोडक्स् चिया उत्पादन गर्छन् । पूर्वका इलाम, पाँचथर र धनकुटामा अर्थोडक्स् चिया उत्पादन गरिन्छ । पाँचथरको फिदिममा एउटा र धनुकटामा तीन वटा अर्थोडक्स चिया कारखाना सञ्चालित छन् । अर्थोडक्स चिया जर्मनी, हङ्कङ, नेदरल्याण्ड, जापान, भारतलगायतका देशमा जाने गरेको छ ।

Tea student

पूर्वका हजारौं चिया किसान र उद्यामीहरुको समस्या समाधानका लागि सरकारले चिया लिलाम विक्री केन्द्र सञ्चालन गर्ने कुरा गरेको तीन–चार वर्ष विते पनि लिलाम विक्री केन्द्रको प्राथमिक चरणको काम भए पनि सञ्चालनमा आउन सकेको छैन । बहुप्रतिक्षित चियाको लिलाम विक्री केन्द्र (अक्सन मार्केट) सञ्चालनका लागि सरकारले काम गरिरहेको भए पनि अझै सेवा प्रवाह हुन सकेको छैन । अक्सन मार्केट सञ्चालन गर्ने गरी विभिन्न तयारी भइरहेको चिया तथा कफी विकास बोर्डको क्षेत्रीय कार्यालय विर्तामोडका प्रमुख इन्द्र अधिकारीले जानकारी दिएका छन् ।

अक्सन मार्केट सञ्चालन गर्नका लागि चिया उद्योगी सुरेश अग्रवालको संयोजकत्वमा अक्सन मार्केट सञ्चालन कमिटी पनि गठन भएको छ । त्यसमा केन्द्रीय चिया सहकारी संघ, होड्पा, साना तथा मझौला चिया उद्योगका प्रतिनिधि सदस्य छन् । त्यस्तै अक्सन सञ्चालन निर्देशिकामा ब्यवस्था भए अनुसार चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमको संयोजकत्वमा अक्सन नियामक समिति पनि गठन गरिएको छ ।

चिया तथा कफी विकास बोर्डले तयार गरेको चिया अक्सन सञ्चालन निर्देशिका कृषि मन्त्रालय हुँदै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाइएको कार्यकारी निर्देशक गौतमले जानकारी दिएका छन् । ‘निर्देशिकामा अक्सन मार्केटमा चिया ल्याउनेलाई थप केही सुविधा दिने ब्यवस्था गरिएको छ’–उनले भने, ‘सरकारले अहिले भ्याटमा ५० प्रतिशत छुट दिएको छ, अक्सन मार्केटबाट चिया विक्री गर्नेलाई थप कति सुविधा दिन सकिन्छ अर्थ मन्त्रालयसँग छलफलबाट टुङ्ग्याउँछौ ।’

Ghoda

थप सुविधा दिए अक्सन मार्केटबाटै धेरै चिया खरिद–विक्री हुने अपेक्षा चिया तथा कफी विकास बोर्डको छ । सञ्चालनको शुरुदेखि नै अक्सनमा चिया आउँछ कि आउँदैन भन्ने समस्या पनि समाधान भएको छ । उद्योगहरुले आफूले उत्पादन गरेको तयारी चियाको २५ प्रतिशत उत्पादन अक्सनमा राख्नु पर्ने अनिवार्य ब्यवस्था गरेपछि समस्या समाधान भएको हो ।

अक्सन सञ्चालनका लागि झापाको विर्तामोडमा अक्सन सचिवालय र गोदामको ब्यवस्था बोर्डले गरेको छ । ‘नेपालमा अक्सन मार्केट स्थापित गर्न केही वर्ष त्यसको सञ्चालन खर्च सरकारले ब्यवस्था गर्ने तयारी भइरहेको छ’–क्षेत्रीय प्रमुख अधिकारीले भने, ‘चिया टेष्ट गर्ने प्रविधि पनि राख्छौं ।’ बिस्तारै खरिदकर्ता र विक्रेताले नै सञ्चालन गर्नुपर्ने अक्सन मार्केटमा तीनदेखि पाँच वर्षसम्म सहयोग गर्ने सरकारी तयारी छ ।

भौतिक पूर्वाधार विकास भइसकेपछि चियाको क्रेता र विक्रेताबाटै अक्सन मार्केट सञ्चालन हुनेछ ।अक्सन मार्केट सञ्चालनका लागि प्राविधिक सहयोग लिने उद्देश्यले चिया तथा कफी विकास बोर्डले भारतको सिलिगुडीमा भारतीय अक्सन सञ्चालकहरुसँग छलफल समेत गरेको थियो । तर अक्सन सञ्चालन गर्ने कुरा अहिले त्यतिकै हराएर गएको छ ।

नेपाली चिया अहिलेसम्म अक्सन बजारको पहुँच छैन । नेपालमा उत्पादन भएको चिया भारतीय दलालमार्फत मात्रै अक्सनमा पुग्ने गरेको थियो । कतिपयले ब्यक्तिगत चिनजानका आधारमा सिधै तेस्रो मुलुक पठाउँदै आएका छन् । अक्सन बजारमा पहुँच नहुँदा नेपाली चियाले विदेशी चियासँग प्रतिष्पर्धा गर्न सकेको छैन । अक्सनमा पहुँच नहुँदा तयारी चियाको विक्री मूल्य पनि पारदर्शी छैन ।

तयारी चियाको मूल्य पारदर्शी नहुँदा चिया उद्योगीहरुले न्यून मूल्यमा चिया विक्री गर्नु परेको भन्दै किसानलाई हरियोपत्तिको मूल्य पनि कम मात्रै दिंदै आएका छन् । नेपालमा नै चियाको अक्सन मार्केट सञ्चालन भएपछि चियाको प्रतिष्पर्धा हुने अपेक्षा गरिए पनि अहिलेसम्म अक्सन बजार सञ्चालन कहिले हुन्छ भन्ने टुङ्गो छैन ।

चिया खेती शुरु भएको डेढ सय वर्ष बितिसक्दा पनि नेपालमा अक्सन मार्केट सञ्चालन हुन सकेको छैन । चिया किसान र उद्योगीहरुले भने लामो समयदेखि अक्सन मार्केटको माग गर्दै आएका थिए । चैत महिनादेखि हरियोपत्ति उत्पादन शुरु हुन्छ । तर अक्सन मार्केक नहुँदा किसानले सहज रुपमा चिया बेच्न सकिरहेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७