मावि र निमावि शिक्षकको लाइसेन्स परीक्षा हुँदै, यसरी अनलाइनबाटै फारम भर्न सकिने

काठमाडौं, १९ बैसाख । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

यही महिनाभित्र परीक्षाको सूचना जारी गर्ने गरी काम भईरहेको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले जानकारी दिएका छन् । आयोगले यस पटक अनलाइनबाटै फारम भर्न सक्ने प्रणालीको विकास गरेको जनाएको छ ।

फारम भर्दा शुल्क भुक्तान पनि अनलाइनबाटै गर्ने गरी सोचिए पनि त्यस अनुसार प्रणाली विकास गर्न तत्काल नसकिने भएकाले यस पटक भौचर स्क्यान गरेर फारम भर्ने तयारी गरिएको उनले बताए । परीक्षार्थीले बैंकमा बुझाएको भौचरको स्क्यान गरेर फारमसँगै अनलाइनमार्फत् बुझाउने प्रणालीको विकास गर्न लागिएको उनको भनाई छ ।

‘हामीले यस पटकबाट शुरु गर्न लागेको अनलाइनमार्फत् फारम भर्ने प्रणालीमै शुल्क भुक्तान गर्ने तयारी गरेका थियौं तर, यो तत्काल सम्भव नहुने जस्तो भएपछि भौचर स्क्यान गरेर फारम भर्ने तयारी गरेका छौं’, उनले भने, ‘यो महिनाभित्रमा विज्ञापन सार्वजनिक गर्ने तयारी छ ।’
आयोगले यस पटक मावि र निमावि तहमा विषयगत लाइसेन्स परीक्षाको तयारी गरेको छ ।

यसअघि परीक्षार्थीले समग्र विषयको परीक्षा दिएर लाइसेन्स लिने व्यवस्थालाई परिवर्तन गरेर आयोगले जुन विषय शिक्षक हो त्यही विषयको लाइसेन्स परीक्षा दिने ब्यवस्था गरेको हो । प्राथमिक तहमा भने विषयगत लाइसेन्न हुँदैन । अंग्रेजी, नेपाली र गणितका लागि एउटै परीक्षा हुनेछ ।

‘विषयगत पाठ्यक्रम स्वीकृत भईसकेको छ, सोही आधारमा जुन विषय पढाउने हो त्यही विषयका शिक्षक तयारी गर्ने योजना हो’ उनले भने, ‘यस पटक हामीले मार्किङ् मेशिन पनि प्रयोग गर्दैछौं ।’
यस अघि आयोगले २०७३ सालमा लाइसेन्स परीक्षा सञ्चालन गरेको थियो ।

अहिलेसम्म आयोगले झण्डै सात लाख धेरैलाई लाइसेन्स दिएको छ । एकै जनाले विभिन्न तहको लाइसेन्स लिएका र कतिपयको उमेर हद कटिसकाले पनि अहिले लाइसेन्स भएकाहरुको यकिन तथ्याङ्क छैन ।

प्रतिक्रिया दिनुहोस्