नेपालमा देखियो ‘फानी’ को प्रभाव, प्रदेश-५ का वडा सदस्य चट्याङ्ग लागेर गम्भीर


२० बैशाख २०७६, शुक्रबार
fafin

काठमाडौं, २० बैसाख । आज विहानैदेखि नेपालको विभिन्न भागमा मौसममा अचानक बदलाव आएको छ । छिमेकी देश भारतमा ‘फानी’ चक्रवात आउने मौसमविदहरुले घोषणा गरिरहेका बेला प्रदेश–५ मा हावाहुरी र चट्याङले सर्वसाधरणलाई तसित्र बनाएको छ । प्रदेश–५ को तराईका जिल्लामा आएको हावाहुरीले ठूलो क्षति पुर्‍याएको छ ।

हावाहुरीसँगै परेको चट्याङ्ग लागेर वडा सदस्यसहित २ जना गम्भीर घाइते भएका छन् ।
नवलपरासी, रुपन्देही, कपिलबस्तु, दाङ जिल्लामा बिहानैदेखि हुरी बतास चलेको छ । हुरीका कारण जनजीवन प्रभावित बनेको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार हावाहुरी र चट्याङले दाङको राजपुर गाउँपालिका–१ गुरुङखोलास्थित ज्योति आधारभुत विद्यालय, राजपुर ६ खांग्रास्थित सामुदायिक स्वास्थ्य चौकीसहित ११ घरमा क्षति गरेको छ ।

उक्त बिद्यालयको जस्तापाता उडाएको र बरण्डाको पर्खाल भत्किएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक विनोदविक्रम शाहले जानकारी दिएका छन् । जसबाट एकलाख ५० हजार बराबरको क्षति भएको छ । त्यस्तै सामुदायिक स्वास्थ्य चौकीको १ तले २ कोठे भवनको जस्ता पाता उडाएको छ । जसबाट एक लाख बराबरको क्षति भएको छ ।

त्यस्तै गढवा गाउँपालिका १ कटबेरवा बस्ने गीता सार्कीको कच्ची घर भत्किदा एकलाख ७५ हजार , सोही ठाउँकी चन्द्रकला बिसीको कच्ची घरको देवाल भत्किँदा एकलाख, सोही ठाउँका बासुदेव डाँगीको भान्साघरको जस्तापाता उडाउँदा २५ हजारबराबरको क्षति भएको उनले बताएका छन् ।

यता, नवलपरासीमा चट्याङ लागेर वडा सदस्यसहित दुई जना घाईते भएका छन् । भीषण हावाहुरी तथा वर्षाको समयमा खेतमा काम गर्न गएकी प्रतापपुर गाउँपालिका वडा नं ६ की महिला वडा सदस्य सहिदुन निशा गम्भिर घाइते भएकी छिन् भने उनको छोरा भुलई अन्सारी समान्य घाइते भएका छन् । गम्भीर घाइते भएकी निशालाई उपचारको लागि भारत पठाइएको स्थानीय रामेश्वर कुशवाहाले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७