बिराटनगरमा सञ्चालन हुँदै आएको त्रिविको परीक्षा काठमाडौंं सारियो, विद्यार्थीलाई सास्ती


२२ बैशाख २०७६, आईतवार
TU Nepal

-अर्जुन कुलुङ राई
मोरङ, २२ बैसाख । विगतका वर्षहरुमा डिग्री क्याम्पस विराटनगरमा हुने गरेको प्राइभेट अन्तर्गतको एमए प्रथम वर्षको नियमिततर्फको परीक्षाको केन्द्र काठमाडौ तोकिएपछि परीक्षार्थीहरु मर्कामा परेका छन् ।

विगतका वर्षहरुमा स्नात्तकोत्तरको राजनीतिशास्त्रको परीक्षा स्नातकोत्तर क्याम्पस विराटनगरमा र एमपिएको महेन्द्र मोरङ क्याम्पस विराटनगरमा हुँदै आए पनि यस वर्षदेखि भने यी दुवै विषयका परीक्षाको परीक्षा केन्द्र काठमाडौमा तानिएपछि विद्यार्थीलाई आर्थिक बोझ मात्र परेको छैन सास्ती समेत थपिएको छ ।

देश संघीयतामा गइसकेको अबस्थामा यस्ता परीक्षाहरु अझै बिकेन्द्रित हुनुपर्नेमा केन्द्रिकृत गरिएपछि विद्यार्थीहरु रुष्ट बनेका छन् । त्रिवि अन्तर्गतको प्राज्ञिक परिषदमा रहेका व्यक्तिहरुको सोचमा अझैसम्म पनि पूरानै केन्द्रियतावादी धङधङी रहेको विद्यार्थीहरुले आरोप लगाएका छन् ।

मोरङमा प्राइभेट परीक्षाका लागि फारम भरेर परीक्षाको तयारी गरिरहेका एक विद्यार्थीले भने, ‘समय निकालेर परीक्षा दिन खाजेको, फारम पनि भरियो तर केन्द्र त काठमाडौंमा पो सारिएको रहेछ । त्रिविको यो कस्तो निर्णय हो, जनताले सुविधा पाएनन् भनेर देशमा संघीयता आएको हो । तर यहाँ त सुविधा पाउनु भन्दा पनि भएको सुविधा पनि खोसियो ।’

परीक्षा दिने विद्यार्थीहरुले स्नातकोत्तर क्याम्पस विराटनगर र महेन्द्र मोरङ क्याम्पसमा डिग्रीको परीक्षा सञ्चालन गर्न नसक्नुको कारणबारे प्रश्न गर्दै त्रिविको निर्णय सच्याउन पहल गरिदिन सञ्चारकर्मी र सरोकारवाला निकायसँग आग्रह समेत गरेका छन् । यसबारे विद्यार्थी सङ्गठनहरु भने मौन छन् ।

त्रिभुवन बिश्व विद्यालयले समेत परीक्षा काठमाडौंंमा सार्नुपर्ने कारणबारे केही बताएको छैन । साथै त्रिविको यस्तो निर्णयको विरुद्धमा विद्यार्थी संगठन मौन बसेको भन्दै विद्यार्थीले गुनासो गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७