प्रहरी अस्पतालको क्यान्टिनमा मनपरी


२२ बैशाख २०७६, आईतवार
police

काठमाडौं, २२ बैशाख । नेपाल प्रहरीद्वारा सञ्चालित महाराजगञ्जस्थित प्रहरी अस्पताल परिसरमा रहेको क्यान्टिनमा सञ्चालकको मनपरी हुन थालेपछि अस्पतालका कर्मचारीहरू अन्यत्र धाउन थालेका छन् । अस्पतालमा कार्यरत प्रहरी तथा प्राविधिकहरू सञ्चालकको मनपरी र फोहोर क्यान्टिनका कारण बाध्य भएर युनिफर्म लगाई अस्पताल परिसर बाहिर गएर खाना तथा नास्ता खान बाध्य भएका छन् ।

अस्पताल प्रमुख एआइजी डा. दुर्गा थापा पुनले बारम्बार क्यान्टिन सञ्चालक टुकराज जैसीलाई सचेत गराउँदासमेत अटेर गर्न थालेपछि अस्पताल प्रशासनले समयावधि पुग्नु अगाडि नै जैसीलाई क्यान्टिनको जिम्मेवारीबाट हटाउने तयारी गरेको समेत थाहा भएको छ । जैसीको क्यान्टिन सञ्चालनको समयावधि आगामी असारसम्म रहेको छ । मासिक १५ हजार भाडा तिर्ने गरी जैसीले डा. दिनेशचन्द्र पोखरेलको कार्यकालमा क्यान्टिन सञ्चालनको ठेक्का प्राप्त गरेका थिए । प्रहरी अस्पतालको प्रबन्ध शाखामा कार्यरत रहिसकेका पूर्वअसई टुकराज जैसीले अस्पतालका पूर्वएआइजी काशीराम कुँवरको कार्यकालमा समेत क्यान्टिन सञ्चालन गर्ने मौका पाएका थिए । कुँवरको आशीर्वादका कारण नै जैसीले प्रबन्धमा कार्यरत रहँदासमेत कार्यालयमा काम नगरी क्यान्टिनमा नै गई आफ्नो व्यवसाय गर्ने गरेको त्यतिबेला धेरै गुनासाहरू परे पनि कुँवरले जोगाएका थिए ।

टेण्डरका समयमा क्यान्टिनमा ४० वटा विभिन्न प्रकारका परिकारहरू राख्ने भनी टेण्डर पारेर सम्झौता गरे पनि अहिले जैसीले सञ्चालन गरेको सो क्यान्टिनमा मुस्किलले १५ वटा आइटमभन्दा बढी नपाउने गरेको अस्पतालका कर्मचारीहरू बताउँछन् । एकातर्फ कबोल गरेको आइटम पनि नबनाउने र अर्काेतर्फ त्यतिबेला तोकिएको मूल्यभन्दा अहिले बढी मूल्य लिएपछि अस्पतालका कर्मचारीहरू रुष्ट हुँदै अन्यत्र जान थालेका छन् ।

अस्पतालभित्रको क्यान्टिन अत्यन्तै सफा सुग्घर हुनुपर्नेमा अत्यन्तै फोहोर हुने गरेको, कबोल गरेअनुसारको परिकार पनि नपाउने र बढी मूल्य लिने मात्रै होइन कि क्यान्टिनभित्रै खुलेआम चुरोट खान छुट दिएपछि प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरू मूल प्रवेशद्वारभन्दा बाहिर खुलेको रेष्टुरेन्टमा जान थालेका छन् । अस्पतालभित्रको क्यान्टिनको दुरावस्थाका कारण आफूहरू युनिफर्म लगाएर भए पनि बाध्य भएर बाहिर खान जानुपरेको एक प्रहरी निरीक्षकले जानकारी दिए । उनले भने– एआइजी सा’पले बारम्बार सचेत गराउँदासमेत क्यान्टिन सञ्चालकले नमानेपछि आफूहरू बाध्य भएर बाहिर हिँड्नु परेको हो । टेण्डरका समयमा एक कप चियाको १३ रूपैयाँ तोकेकोमा निजले अहिले १५ रूपैयाँ लिने गरेको एउटा उदाहरणमात्रै हो भन्दै अर्का एक प्राविधिक कर्मचारीले भने– हरेक सामानको मूल्य यसरी नै बढी लिने काम उनले गरेका छन् भने खाने परिकारहरू पनि धेरै नभएपछि बाध्य भएर आफूहरू बाहिर जानु परेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७