हिंड्दा-हिंड्दै गयो ज्यान


२४ बैशाख २०७६, मंगलवार
death मृत्यु
फाइल तस्बिर

वागलुङ, २४ बैसाख । बागलुङको बडिगाड गाउँपालिका र जैमिनी नगरपालिकामा दुई पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ ।

बडिगाड गाउँपालिका–८ नेटाको जङ्गलमा सडेको अवस्थामा बागलुङकै तमानखोला गाउँपालिका–२ का बमबहादुर घर्तीको शव फेला परेको हो । सोमबार बिहान घाँसदाउराका लागि जङ्गल पुगेका स्थानीयवासीले घर्तीको कङ्काल देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनको शव पूरै सडेको अवस्थामा भए पनि उनले लगाएको चप्पल र कपडाले पहिचान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक झवेन्द्र भट्टराईले जानकारी दिए । घर्ती चार महिनादेखि बेपत्ता थिए । मानसिक समस्या रहेका उनलाई परिवारले खोजी गरिरहेको भए पनि सोमबार मात्रै उनको शव जङ्गलमा फेला परेको हो ।

उनको शव परीक्षणका लागि प्रहरीले धवलागिरि अञ्चल अस्पताल पठाइएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको जैमिनी नगरपालिका–८ को कालीगण्डकी नदी किनारमा एक व्यक्तिको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । अन्दाजी ३० वर्षीय पुरुषको शव फेला परेको प्रहरी नायब उपरीक्षक भट्टराईले बताए ।

शवको पहिचान हुनसकेको छैन । शव परीक्षणका लागि जिल्ला सदरमुकामस्थित धवलागिरि अञ्चल अस्पताल ल्याइएको छ । यस्तै जिल्ला सदरमुकाम बागलुङ बजारको श्रीनगरटोलमा सोमबार दिउँसो हिँड्दा हिँड्दै एक व्यक्तिको ज्यान गएको छ ।

नवलपरासी (पश्चिम) सुनवल नगरपालिका–७ घर भई हाल बागलुङ बजारमा ज्याला मजदुरी काम गर्दै आएका अन्दाजी ३८ वर्षीय खुमानन्द पौडेलको हिँड्दाहिँड्दै निधन भएको हो । बाटोको छेउमा रगत बान्ता गरी पल्टिएपछि उपचारका लागि धवलागिरि अञ्चल अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । परिवारका सदस्य बागलुङ आइनपुगेकाले उनको शव अञ्चल अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७