काठमाडौंका प्रहरी प्रमुख ९ महिनामै किन तानिए ?


२४ बैशाख २०७६, मंगलवार
ssp baasanta lama 1

काठमाडौं, २४ बैशाख । एसएसपी वसन्त लामा काठमाडौं परिसरको प्रमुखबाट ९ महिना नपुगी सरुवा भएका छन् । उनले शान्ति सुरक्षा कायम गर्ने र अपराध कायम गर्नतिर भन्दा पनि लेनदेन र चेक बाउन्सका मुद्दामा बढी चासो देखाएका कारण ९ महिनामै उनी लागूऔषध ब्यूरोमा सरुवा भएका छन् ।

एसएसपी लामा २०७५ साउन ३० मा काठमाडौं परिसरमा सरुवा भएका थिए । उनको सरुवा भएको २०७६ बैशाख ३० मा ९ महिना पुग्दैथियो । तर ७ दिनअघि नै उनी सरुवा भएका छन् । उनीसँगै सरुवा भएका ललितपुर प्रहरीका प्रमुख एसएसपी रविन्द्रसिंह धानुक चलाइएका छैनन् ।

आइजीपी सर्वेन्द्र खनाल आगामी साउनमा मात्र काठमाडौं परिसर र अपराध महाशाखाका प्रमुखलाई परिवर्तन गर्ने पक्षमा थिए । तर परिसरका प्रमुख एसएसपी वसन्त लामाको कार्यक्षमता अति कमजोर देखिएपछि उनले ९ महिना नपुग्दै उनलाई सरुवा गर्ने निचोडमा पुगेको देखिन्छ । उनीसँगै अपराध महाशाखामा कार्यक्षमता प्रदर्शन गरेका एसएसपी धिरजप्रताप सिंहको पनि सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले सोमबार ८ एसएसपीको सरुवा गरेको छ । बिराटनगर तालिम केन्द्रका प्रमुख सहकुलबहादुर थापा अपराध महाशाखामा सरुवा भएका छन् । काठमाडौं परिसरमा एसएसपी उत्तम सुवेदीको सरुवा भएको छ । धिरजप्रताप सिंह प्रहरी मुख्यालय तालिम निर्देशनालय, पुरुषोत्तम कंँडेल बिराटनगर तालिम केन्द्र, पोषराज पोखरेल संघीय प्रहरी इकाइ कार्यालय भेरी, घनश्याम अर्याल प्रहरी मुख्यालय विशेष सशस्त्र प्रहरी महाशाखा, विश्वराज पोखरेल प्रहरी निरीक्षणालयमा सरुवा भएको छ ।

लामाले काठमाडौंमा शान्ति सुरक्षा कायम गर्न असफल भएको र चोरी लुटपाट रोक्न नसकेको महसुस आइजीपी सर्वेन्द्र खनालले गरी उनलाई सरुवा गरेको देखिन्छ । एसएसपी लामा लेनदेन र बाउन्स चेकका उजुरीतिर बढी केन्द्रित हुने गरेका छन् । लामाले आफ्नो कार्यक्षेत्र बाहिए गएर केही व्यक्तिहरुले दिएको निवेदनलाई आधार मानेर चेक बाउन्स नगर्न प्रभु र बैंक अफ काठमाण्डूलाई हालै पत्र लेखेको सार्वजनिक भएको थियो । काठमाडौं परिसरले दुई बैंकलाई पत्र लेखी होमप्रसाद चौलागाईं र गोपाल महर्जनको निवेदनले युनिक फ्युल सेन्टर र भ्याली रिकेस सप्लायर्सको नाउँमा रहेको कुनै पनि चेकहरु बाउन्स नगरिदिनुहुन अनुरोध गरेको थियो । चेकहरु अनुसन्धानका क्रममा रहेको हुँदा अन्य चेकहरु पनि जारी नगराउन अनुरोध गरिएको पत्र परिसरले प्रभु र बैंक अफ काठमाडौंलाई लेखेको सार्वजनिक भएपछि उनको कार्यक्षमतामा प्रश्न उठेको थियो । एसएसपी लामा लेनदेनका केसमा दत्तचित्त भएर लागेको दृष्टान्त चेक बाउन्स नगर्न लेखेको पत्र नै हो ।

ठगीमा मुछिएका होम प्रसाद चौलागाईं र गोपाल महर्जनलाई जोगाउन एसएसपी लामाले बैंकलाई पत्र लेखेका हुन् । होम प्रसाद चौलागाईं भ्याली रिकेस सप्लायर्सका सञ्चालक हुन् भने गोपाल महर्जन युनिक फ्युल सेन्टरका सञ्चालक हुन् । यी दुई व्यक्तिहरुले आन्तरिक सहमति गरेर शिवप्रसाद तिमिल्सिनाई पम्प सञ्चालन गर्न दिएका थिए ।

एसएसपी लामाले विवादित इन्स्पेक्टर अनिल ठकुरीलाई घुमुवा राखी असुलीमा केन्द्रित भएको आरोप लागेको छ । सर्लाहीको हरिपुर इलाका प्रहरी कार्यालयको इन्चार्ज हुँदा बलात्कार काण्डका अभियुक्तलाई जोगाउन खोजेपछि कारबाहीस्वरुप तानिएका इन्स्पेक्टर ठकुरी एसएसपी लामाका विश्वासिला भएका छन् । क्लव डेजाभूको ठगीप्रकरणदेखि अरु धेरै लेनदेन र ठगीमा एसएसपी लामाले चासो दिएको आरोप छ ।
प्रहरीको पैसा मिटरब्याजमा चलाएपछि तिर्न नसकेर थुनिएका काठमाडौं तारकेश्वर नगरपालिका ११ का रवीन्द्रकुमार ढुंगानाको यातनाका कारण २०७५ कात्तिक १९ गते हिरासतमा मृत्यु भयो ।

प्रहरी अस्पताल महाराजंगमा कार्यरत नेपाल प्रहरीका प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्कीले मिटर ब्याजमा रुपैयाँ लगाउने काम गर्थे । कार्कीले दिएको ५ लाख रुपैयाँको ब्याज १५ लाख भन्दा बढी ढुंगानाले तिरे पनि साँवा चुक्ता नगरेको भन्दै कार्कीले ढुंगानालाई प्रहरीको पहुँच प्रयोग गरी थुनाएका थिए । असई कार्कीले ढुंगानासँग चेक काट्न लगाएको र सोही चेक बाउन्स गराएर ढुंगानालाई पक्राउ गराएका थिए ।

प्रहरी अस्पताल महाराजगंजमा कार्यरत प्रहरी सहायक निरीक्षक सुरेन्द्र कार्कीसहित बालाजु प्रहरी वृत्तले ढुंगानालाई २०७५ कात्तिक १८ मा पक्राउ गरेको थियो । उनलाई घरबाटै पक्राउ गरिएको थियो । ढुंगाना १९ गते महानगरीय प्रहरी परिसरको हिरासतमा बिरामी परेका थिए । उनलाई प्रहरीले उपचारका लागि वीर अस्पताल लगेको थियो जहाँ उनको मृत्यु भयो । सुरुमा रवीन्द्रको मृत्यु रहस्यमय भएको आरोप लगाउँदै उनको परिवारले शव बुझ्न मानेका थिएनन् । तर पछि असई कार्कीले २७ लाख रुपैयाँ क्षतिपूर्ति दिने गरी सम्झौता गराएर परिवारलाई शव बुझ्न लगाएका थिए । यसरी प्रहरी हिरासतमा थुनुवाको मृत्युु हुँदा पनि एसएसपी लामाले यो प्रकरणमा दोषी प्रहरीलाई कारबाही नै नगरी उन्मुक्ति दिए ।

त्यस्तै, काठमाडौं परिसरकै टोलीले तेन्दु शेर्पाको मूलपानीस्थित घरमा जुवा अखाडामा छापा मार्ने क्रममा आतंकित बनाउँदा घरको छतबाट हाम्फालेर दुई जनाको ज्यान गएको थियो । मूलपानी हेर्ने बौद्ध बृत्तका इन्चार्जलाई थाहा नदिई एसएसपी लामाले जुवामा छापा हानेका थिए । छापा हान्न प्रहरी आएपछि झ्यालबाट भाग्ने क्रममा हाम्फाल्दा सरोज घले र सोमलाल तामाङको मृत्यु भएको थियो । वाइसिएलका काभ्रे इन्चार्ज अभिलास तामाङलाई कोठामा बसेको अवस्थामा गोली हानेकोमा पनि परिसरको टोली आलोचित भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७