अज्ञात समूहद्वारा डोटीको वडा कार्यालय जलाइयो, सम्पूर्ण कागजात खरानी


२४ बैशाख २०७६, मंगलवार
doti 1

डोटी, २४ बैसाख । अज्ञात समूहले बडीकेदार गाउँपालिका–४ को वडा कार्यालय जलाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख तथा प्रहरी उपरीक्षक विद्यानन्द माझीले दिएको जानकारी अनुसार सोमबार राति वडा कार्यालयमा आगो लगाइएको हो ।

आगजनीबाट वडा कार्यालयमा भएका सम्पूर्ण कागजातहरु पूर्ण रुपमा जलेर नष्ट भएको वडा नम्बर–४ का वडाध्यक्ष वीरेन्द्रबहादुर कोटकेनीले बताए । उनले भने, ‘वडा कार्यालयको ढोका तोडफोड गरेर सबै सामाग्री र कागजात एक ठाउँमा जम्मा पारेर आगो लगाइएको छ ।’

राति नै आगो लगाइएको भए पनि मंगलबार बिहान मात्र प्रहरीलाई जानकारी भएपछि इलाका प्रहरी कार्यालय बिपीनगरबाट प्रहरी निरीक्षक भरत चौधरीको नेतृत्वमा घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक लालबहादुर धामले बताएका छन् ।

आगो कसले र किन लगायो भन्ने विषयमा अहिलेसम्म केही पत्ता नलागे पनि केही समयअघि विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कार्यालय नजिक सुनालेकमा रहेको अस्थायी प्रहरी चौकी नहटाए कार्वाही गर्ने धम्की दिएका कारण उनीहरुले नै आगो लगाएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७