कर्मचारी समायोजन : स्वास्थ्यका १३ हजार कर्मचारीको गुनासो अभिलेख, आज अभिलेख राख्ने काम सकिंदै


२४ बैशाख २०७६, मंगलवार
sanghiya संघीय स्थानिय विकास तथा सामान्य प्रशासन मन्ज्ञालय 3

काठमाडौं, २४ बैसाख । कर्मचारी समायोजनमा त्रुटी देखिएपछि स्वास्थ्यका कर्मचारीहरुको समायोजन लम्बिएको छ ।

सरकारले समायोजन प्रक्रिया अगाडि बढाए पनि बीचैमा त्रुटी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्यका कर्मचारीको समायोजन अझै टुंग्याउन सकेको छैन । स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो ।

स्वास्थ्यका १३ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका छन् । वैशाख ५ गतेभित्र दर्ता भएका गुनासोलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिला कम्प्युटरमा अभिलेख (इन्ट्री) गर्ने काम गरेको जनाएको छ । सामान्यले हालसम्म १३ हजार गुनासोको अभिलेख गरिसकेको जानकारी दिएको छ ।

अझै ५ सय जति गुनासो बाँकी रहेकाले आज मंगलबार सक्ने गरी काम अगाडि बढेको सामान्य प्रशासन मन्त्रालयले बताएको छ । स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा सोझै दर्ता भएका गुनासा सहित इमेल र भाइबारमा आएका गुनासालाई पनि एक–एक गर्दै अभिलेख गर्ने काम भइरहेको हो । गुनासो अभिलेख गर्नका लागि १९ जना कर्मचारी खटिएका छन् ।

स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३०२ जना कर्मचारीको समायोजन गरेको सूची सार्वजनिक गरेको थियो । तर, स्वास्थ्यको सूची सार्वजनिक भएलगत्तै धेरै त्रुटि आएपछि समायोजन भएको कर्मचारीमध्ये आधाभन्दा बढीले गुनासो दर्ता गराएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७