गोरखा भर्ती : राज्यको फाइदाको खेती 


प्रकाशित मिति : September 27, 2017

म आफैँ लाहुरे नभए पनि म ब्रिटिस लाहुरे परिवारकै सदस्य हुँ । मेरो पिताजी पहिलो विश्वयुद्धपछि सन् १९३० मा भर्ती हुनुभएको थियो । मेरा दुई जना काका पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । पछि एक जना काका जापानको युद्धबन्दीमा पर्नुभयो भने अर्को जर्मनीको युद्धबन्दी हुनुपर्यो । मेरो जेठा दाइ र एक जना भाइ र मामा पनि ब्रिटिस लाहुरे नै हुनुहुन्थ्यो । यस मानेमा म आफू लाहुरे नभए पनि लाहुरेहरूको सुखदुःख, पीडा, चालचलन, जीवनशैली र उनीहरूले भोग्नुपरेका विभेदहरूसँग म अत्यन्त परिचित छु ।

 मेरा पिताजी भन्ने गर्नुहुन्थ्यो, अंग्रेज अधिकृतहरूले चढेको जहाजलाई मैदानमा पन्ध्र देखि बीस जनासम्मले सुरक्षा दिनुपर्दथ्यो । तर, जहाजपट्टि फर्किएर होइन जहाजपट्टि ढाड फर्काएर सुरक्षाको लागि उभिनु पर्दथ्यो । जहाजको छेउमा जाने वा जहाजलाई छुने कुनै अनुमति थिएन । अथवा, त्यो सुरक्षामा खटिएका ती गोरखाहरूले त्यो जहाजलाई छुने कुनै हैसियत थिएन भन्ने जस्तो गरिन्थ्यो । बेलायतले कतिसम्म विभेद गर्ने गरेको थियो भन्ने दृष्टान्त लाहुरे हुँदाताका नै मेरा आफन्तहरूले भोगेका विभेदबाट थाहा हुन्छ । उतिबेला पढेलेखेको वा शिक्षितलाई भर्ती गरिँदैन थियो । शिक्षित ठहरियो भने भर्ती भएपछि पनि फिर्ता गरिन्थ्यो । त्यसको एउटा उदाहरण मेरा मित्र सन्तकुमार बान्तावा पनि हुनुहुन्थ्यो । उहाँ जलपहाडमा भर्ती भइसकेपछि अंग्रेजी बोलेको सुनेर तुरून्तै घर पठाइएको थियो । मेरो जेठा दाइ अंग्रेजी भाषा जान्ने भएकोले मेमसाहेबको प्रश्नको उत्तर अनुवादकमा भर नपरी अंग्रेजी मै दिनुभएछ । त्यसको भोलिपल्ट गोर्खा मेजरले बोलाएर ‘तँलाई कसले अंग्रेजी सिकायो ? कसले अंग्रेजी बोल्न लगायो ? अबदेखि नबोल्नू’ भनेर धम्की र खप्की खानुभएछ ।

यता गाई भैँसी गोठालो गर्दागर्दै १४/१५ वर्षकै उमेरमा पुलिस समेत लगाएर खेदी खेदी सोझा जनजाति युवालाई भर्ती पठाइएको थियो । उनीहरूलाई लड्नुपर्छ र हतियार बोक्नुपर्छ भन्ने केही ज्ञान थिएन । जबर्जस्ती कलिलै उमेरमा परिवारबाट छुटाएर लगियो । उता गोरखा अफिसर वा अंग्रेजहरूबाटै गोरखाहरूलाई शिक्षाबाट विमुख गराउने कम प्रयत्न भएको थिएन । परिपक्व र शिक्षितहरूलाई गुमराहमा राख्न गाह्रो हुन्छ र उनीहरूबाट खतरा हुन्छ भन्ने ब्रिटिसले बुझेकोले षड्यन्त्रको रूपमा यस्ता जालझेलका रूपहरू बाहिर पनि देखापर्थे । मेरा लाहुरे आफन्तहरूले सुरूमै धार्मिक वा सांस्कृतिक मार खेप्नुपरेको थियो ।

भर्ती भएपछि कलकत्ता ब्यारेकपुरबाट सिंगापुर पानीजहाजमा लगिन्थ्यो । फेरि जब कलकत्ता ल्याइन्थ्यो उनीहरूलाई पानीपतिया गरिन्थ्यो । पारिपट्टि गएर मुसलमान, म्लेच्छ वा अरू जातिसँग खाएको हुनाले अपवित्र भएको मानी ‘शुद्ध हिन्दू’ बनाउन पण्डित राखेर पानीपतिया गरिन्थ्यो । जबकि लाहुर जानेहरू हिन्दू धर्मावलम्बी थिएनन् । उनीहरूको आफ्नै मौलिक धर्म र संस्कार थियो । हिन्दू बनाइएपछि उनीहरूलाई आइतबारको दिन मन्दिर जानुपर्ने र पुरोहितलाई भेटी दिनुपर्ने गर्नुपथ्र्यो । जन्म, मृत्यु संस्कारमा पुरोहितको संस्कारलाई आत्मसात गर्नुपर्ने बाध्यता थियो । लाहुर वा यस्तो संस्कार जनजाति युवाहरूको कुनै रहर वा इच्छाको विषय थिएन । यो त नेपाली शासक र ब्रिटिस साम्राज्यको स्वार्थबाट प्रेरित सन्धिहरूको मारमा उनीहरूलाई पारिएपछिको एकखालको सांस्कृतिक उत्पीडन थियो ।

भलै आज बहुलसांस्कृतिक चेतनाले पण्डित मात्र होइन फेदाङमा, लामा वा नाक्छोङ राख्नुपर्छ भन्ने आवाजहरूको गुन्जायस हुन थालेको छ ।  सरकारले गोरखालीहरूले चलाइरहेको आन्दोलनलाई साथ दिने कुरा वा यो मुद्दालाई सरकारले नै ग्रहण गर्ने प्रश्न मूल प्रश्न भए पनि त्यो प्रश्न गर्नु पूर्व यो देशमा सरकार नै छ कि छैन भन्ने प्रश्न तेर्सिनु त्यति नाजायज नहोला । सरकार भए पनि पनि रतन्धो हो वा पुरै अन्धो हो ? किनभने सन्धिद्वारा उद्भव गराइएको दुई शताब्दी लामो गोरखा भर्ती परम्पराको बारेमा त एउटा स्पष्ट नीति हुनुपर्दथ्यो । सरकारले भएका सन्धिहरूको पनि नयाँ खाले नविकरण गर्नुपर्दथ्यो ।

आफ्ना जनता श्रम बेच्न जाँदा समयानुकुल सुविधाहरूको प्रावधान मिलाउँदै जानुपर्दथ्यो । तर, सरकारले त्यसो नगरेको हुनाले सचेत लाहुरे दाजुभाइहरूले आफैँले आन्दोलन गर्नुपर्ने अवस्था भयो । अहिले जे जति उपलब्धिहरू भएका छन् स्वयम् गेसोले नगरेको भए यी उपलब्धिहरू हुने थिएनन् । गोरखा भर्ती परम्परामा जनजाति युवाहरू मात्र भएको हुनाले पनि गेसो आन्दोलनलाई सरकारले टेको दिन नखोजेको हो जस्तो मलाई लाग्छ ।  अर्को कुरा गोरखा भर्ती नेपाल र ब्रिटिस शासकहरूको षड्यन्त्र थियो भन्नेमा विमति छैन । किनभने सैद्धान्तिक रूपमै गोरखा भर्ती अति गलत छ । पहिलो विश्वयुद्धभन्दा अगाडि अफगानिस्तानमा भएको लडाइँदेखि गोरखा भर्ती गर्न थालिएको थियो । यसका दुईटा कारण छन् । पहिलो नेपालका शासकहरूले अंग्रेजलाई खुशी बनाउनु थियो । दोस्रो, हतियार बोक्न सक्ने र जुझारू जनजाति युवाहरूलाई पलायन गराउनु थियो ।

यसरी एउटा मट्याङग्राले उनीहरूले दुईटा चरा मारेका थिए । नेपाली शासकहरूले उतिबेला ब्रिटिस सेनामा यसरी सोझा जनजातिहरूलाई बेचेर धनी बन्ने षड्यन्त्र बुनेका थिए । एउटा घडामा पानी जमाउँदा त्यसको पिँधमा हो कि बीचमा हो कहाँनेर छेँड पार्ने हो, छेँड भएपछि पानी चुहिएर जान्छ, छेँड नहुँदाखेरि मुखबाट पोखिन्छ । त्यसकारण बाहिर पठाउनको लागि सजिलो तर तुरून्तै लाभ पनि हुने गरी जनजातिहरूलाई छेँड पारेर बाहिर पठाइएको हो । त्यस बापत राणा र दरबारलाई रोयल्टी आउँथ्यो । त्यो रोयल्टी लुकाइछिपाइ शासकहरूले खान्थे । अहिले पनि लाहुरेहरूले कमाएको पैसा रेमिट्यान्समा गणना हुँदैन । दुई चार वर्षको श्रम गर्न जाने परम्परा रहेको देशहरू वा भनौँ मलेसिया तथा खाँडी मुलुकको रेमिट्यान्स गणना हुन्छ ।

लाहुरेहरूले कमाएर देश भित्र्याएको पैसा कहाँ जान्छ ? दुईचार पैसाको अदुवा, बेसार बेचेको हिसाब किताब हुन्छ । तर, दुई शताब्दी परम्परा रहेको लाहुरेहरूले कमाएको पैसा कतै पनि र कुनै पनि बजेटमा प्रतिबिम्बन भएको छैन । यसलाई लुकाउने प्रयत्न भइरहेको छ । र, यसबाट शासकहरूलाई फाइदा भइरहेको छ भने शासकहरूले गोरखा आन्दोलनलाई बोक्नु त के साथ दिने कुरा कहाँबाट आउँछ र ? अर्को कुरा लाहुरे शब्द कतिपय दाजुभाइलाई मन नपरेको मैले बुझेको छु । तर, यो शब्दले हिनताबोध गर्नुपर्ने कुनै कुरा म देख्दिनँ । मेरा एकजना नेवार गुरू हुनुहुन्थ्यो । अरूले हियाएर उहाँलाई ‘ज्यापु’ भन्ने गर्थे । तर, पछि उहाँले त्यै शब्दको सम्मान गर्दै नामको पछाडि नै ज्यापु जोडेर आफ्नो नाम गोविन्दनारायण ज्यापु बनाउनु भयो ।

अहिलेका सैनिकहरूले लाहुरे शब्दलाई आत्मसात गरेर यसैबाट माथि उठ्न सक्नुपर्छ भन्ने मलाई लाग्छ । पहिले लाहुरेहरूलाई शैक्षिक रूपमा अन्धकारमा राख्न खोजिएकैले उनीहरूमा शैक्षिक चेतना जागेको थियो । र, उनीहरूले गाउँ–गाउँमा विद्यालय खोल्न थालेका थिए । अहिले अझ बढी मात्रामा बौद्धिक र अन्याय विरूद्ध उभिने लाहुरेहरूको जमात बढ्दै गएको छ । म आफैँ विश्वविद्यालयको प्राध्यापक भइसकेको व्यक्ति पनि लाहुरे परिवारकै चेतनाले आफूमा जग हालेको भन्ने ठान्दछु । उतिबेला मेरा पिताजी पनि पल्टनबाट फर्किएर विद्यालय सञ्चालक हुनुभयो । मेरो मामा शिक्षक नै हुनुभयो । जानेर वा नजानेर लाहुरेहरूले विद्यालय खोलेको र पढाएको कुराले शैक्षिक जागरण ल्याएको थियो । राजीनितिक हिसाबले अधिकांश पञ्चायतमा प्रधानपञ्च भएका लाहुरेहरूले अगुवाको रूपमा नेतृत्व गर्न प्रयास गरेका थिए । गेसो आन्दोलन त्यही सचेत परम्पराकै निरन्तरता हो जस्तो मलाई लाग्दछ । अनेक कष्टसाध्य कर्म गरेर बनाएको लाहुरेको लोभलाग्दो जीवनशैली जस्तै अनेक षड्यन्त्रका बीच थुप्रै उपलब्धि गर्दै आएको गेसो आन्दोलनको उपलब्धि पनि लोभलाग्दो बन्दै गइरहेको झँमलाई लाग्छ । (निराजन बताससँगको कुराकानीमा आधारित)

प्रतिक्रिया दिनुहोस्