दिउँसो सुत्ने, राती निस्कने कथित महारानी पक्राउ

काठमाडौं, २५ बैशाख । बेरोजगार युवाहरुलाई रोजगारी दिने नाममा ठग्ने कथित महारानी राज्यक्ष्मी राणा पक्राउ परेकी छन् । महारानी राज्यलक्ष्मी राणा भन्दै बिजनेशम्यान र प्रहरी अधिकृतलाई समेत उल्लु बनाउँदै ठगीधन्दा संचालन गर्दैआएकी लक्ष्मी बोहरालाई प्रहरीले मंगलबार पक्राउ गरेको छ ।
बालुवाटारमा कार्यालय रहेको रानी डाइना विजनेश ग्रुपले रोजगारीका नाममा श्रम शोषण गर्दै दर्जनौ युवाहरुलाई ठगेको आरोप लागेको छ । राज्य लक्ष्मी राणा भन्ने लक्ष्मी बोहरा संस्थापक अध्यक्ष रहेको यस कम्पनीले ४० जना युवाहरुलाई रोजगारी दिने नाममा ठगेको भन्दै पीडित कर्मचारीले प्रहरीमा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी बृत्त महाराजगंजका डीएसपी फणिन्द्र प्रसाईले जानकारी दिएका छन् । उनका अनुसार ठगी गर्ने कथित महारानीका बारेमा अनुसन्धान भइरहेको छ ।
कथित महारानीको कम्पनीले युवाहरुलाई ट्रेनिङपछि रोजगारी दिने भन्दै पर्सनालिटी एण्ड लिडरशीप ट्रेनिङका लागि सुुरुमा १४ देखि १६ हजार रुपैयाँसम्म लिएको रहेछ । पछि काम दिलाउने भन्दै पार्टी प्यालेसमा भाँडा माझ्ने, भान्सा सफा गर्नेसम्मका काम गराएको खुलेको छ । रातभर डिस्को र क्लवमा भीभीआइपी ब्यापारीसँग रमाउने उनलाई महानगरीय प्रहरी बृत्त महाराजगंजले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
डोल्पा घर भएकी लक्ष्मी बोहराले आफू लण्डनमा बस्ने र नाम महारानी राज्यलक्ष्मी राणा बताउने गरेकी थिइन् । सुन्दर रिजालको नाममा रानी डाइना विजनेश ग्रुप कम्पनी दर्ता गरी अध्यक्षमा आफ्नो नाम राखी आम्दानी सबै लिने गरेकी थिइन् । कम्पनीमा नाम राखेका रिजालको सोझोपनको फाइदा लिएकी उनले अहिले प्रहरीलाई आफ्नो कम्पनी नभएको भन्दै बयान दिने गरेकी छन् । तर उनको फेसबुक पेजमा डाइना विजनेश ग्रुपको अध्यक्ष उनी नै रहेको उल्लेख छ ।
आफू लण्डनमा बस्ने विदेशी भएको भन्दै उनले रिजालको नाममा कम्पनी दर्ता गरेकी थिइन् । उनी दिनभर सुत्ने र रात परेपछि भीआइपी बिजनेशम्यान र प्रहरी अधिकृतहरुसँग क्लवमा जाने गरेकी थिइन् ।
ठगीमा परेका युवाहरुले प्रहरीमा जाहेरी दिएपछि उनले उच्च अदालत पाटनबाट पक्राउ नगराउने आदेश गराएकी थिइन् । उच्च अदालत पाटनका न्यायाधीश हरिप्रताप केसीले कथित महारानी राज्यलक्ष्मी राणालाई पक्राउ नगर्न २०७६ बैशाख २२ मा अन्न्तरिम आदेश दिएका थिए ।