‘जाँगर भए, चाँहिदैन जागिर’

सँगैका साथी लोकसेवाको गाइड पढिरहेका बेला, उद्धव चाँहि गाई पालिरहेका छन्


२६ बैशाख २०७६, बिहीबार
Udhav

काठमाडौं (इलाम), २६ बैसाख । २०५९ सालमा इलाम फाकफोकबाट एसएलसी उत्तीर्ण गरेपछि क्याम्पस पढ्न सदरमुकाम आएका उद्धव कोइराला अहिले स्नातकोत्तर दोस्रो वर्षका विद्यार्थी हुन् ।

उनीसँग पढ्ने धेरै साथीहरुको हुलमा उद्धव अलि फरक देखिन्छन् । सँगैका साथीहरु जागिर खान लोकसेवा आयोगको तयारीका लागि ‘गाइड’ पढिरहेका बेला उनी भने गाई पालिरहेका छन् । उनले पढाइसँगै इलाम नगरपालिका–६ मा फार्म नै दर्ता गरेर व्यवसायिक गाईपालन गरिरहेका छन् ।

इनपा–६ मा २० रोपनी जग्गा खरिद गरी २०६८ सालदेखि गाई पाल्न थालेका कोइराला जागिर नपाए पनि व्यवसायिक बन्न सक्ने देखेर कृषि पेसामा लागेको बताउँछन् । उनले भने, ‘पढेको मान्छेले जागिर नै खानु पर्छ भन्ने छैन, कृषि क्षेत्रबाट पनि नाम–दाम कमाउन सकिन्छ ।’

पशुसेवा कार्यलयको आर्थिक सहयोगमा आधुनिक गोठ निर्माण गरी सञ्चालन गरिएको फार्ममा अहिले पाँच माऊ उन्नत जातका गाई छन् । पशुसेवा कार्यालयले गोठ सुधारका लागि दिएको पाँच हजार अनुदानसहित गोठ निर्माणमा दुई लाख रुपैंयाँ खर्च भएको कोइरालाले बताए । १० माऊ गाई पाल्ने लक्ष्य राखेका कोइरालाले अहिलेसम्म गाई खरिदमै तीन लाख रुपैंयाँ खर्च गरिसकेको जानकारी दिए ।

कोइरालाका गोठमा ३० देखि ६० हजार रुपैंयाँसम्मका गाईहरु छन् । केही समयअघि आफ्नोमा ६ माऊ गाई भए पनि भर्खर दुई माऊ बेचेको सुनाउँदै कोइरालाले भने, ‘पैसा कमाउन जागिर नै खानुपर्छ वा विदेश नै जानु पर्छ भन्ने सोचाई मेरो छैन, यसैले गाई पालनलाई नै थप व्यवस्थित बनाउँदै जान्छु ।’ श्रीमती र एक छोरासहित आठ जनाको संयुक्त परिवारमा रहनु भएका उनी आफ्ना दाजु–भाउजुले ब्यवसाय सञ्चालनमा सहयोग गरिरहेको बताउँछन् ।

समाजशास्त्र विषयमा स्नातकोत्तर गरिरहेका कोइरालाले भने, ‘परम्परागत गाई पालनलाई आधुनिकीकरण गर्न सक्दा युवाहरुले अन्यत्र दुःख पाउनु पर्दैन ।’ कोइरालाले गाईपालनकै लागि १५ रोपनी जमिनमा घाँस लगाएका छन् । पढेका बर्गले नै परम्परागत रुपमा सञ्चालन गर्दै आएको ब्यवसायलाई आधुनिकीकरण गर्दै लैजानु पर्ने उनी बताउँछन् ।

दैनिक ४० लिटर दूध उत्पादन तथा बिक्री गर्दै आएका कोइरालालाई पशुपालन ब्यवसाय गर्न आफै हौसला जागेको बताउँछन् । पशुपालन ब्यवसायबाट गाईका लागि आहारा, घरपरिवार चलाएर पनि मासिक २० हजार रुपैंयाँसम्म आम्दानी हुने गरेको उनले सुनाए । गाईपालनमा राम्रो आम्दानी भए पनि गाईका लागि आवश्यक दाना महँगो र जुटाउन समस्या हुने गरेको उनको भनाई छ । पढेका युवाहरुले पनि कृषि पेसामा अवसर खोज्न सके विदेशी भूमिमा पसिना बगाउनु नपर्ने कोइरालाको भनाई छ ।

अहिले आफूले आफ्ना केहि साथीभाइहरुलाई पनि पढाइसँगै व्यवसाय गर्न सकिन्छ भन्ने सल्लाह सुझाव दिने गरेको कोइराला बताउँछन् । पढेका युवाहरु सरकारी जागिरकै लागि मात्र मरिहत्ते गर्ने गरेका कारण कृषि क्षेत्र पछाडि परेको बताउँदै कोइराला भन्छन्, ‘पढेका हामी युवाहरुले नै कृषि क्षेत्रमा आधुनिकीकरण ल्याउनु पर्छ, परम्परागत रुपमा गरिने कृषिबाट फाइदा लिन सकिंदैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७