राजेश हमालले भन्छन्, ‘जीवन आफ्ना लागि त सबैले बाँच्छ, तर, अर्काका लागि केहि गरेर मर्नु महानता’


२६ बैशाख २०७६, बिहीबार
Rajesh hamal

बाजुरा, २६ बैसाख । महानायक राजेश हमालले युवालाई समृद्धिको प्रमुख स्रोतका रुपमा व्याख्या गरेका छन् । बाल स्याहार गृहको उद्घाटनका लागि बुधबार बाजुराको ब्रह्मतोला आएका नायक हमालले युवाको ऊर्जा देशको विकासमा खर्चिनुपर्ने बताए ।

हमालले केपी खनालले अनाथ बालबालिकाका लागि निर्माण गरेको बाल स्याहार गृहप्रति लक्षित गर्दै केपी खनाल सबैको प्रेरणाको स्रोत हुनुपर्ने बताए ।

बहुसंख्यक युवामा प्रतिभा भए पनि अवसर नपाएर शक्ति खेर गएको उनको भनाइ थियो । उनका अनुसार अवसरको कमी छ, राज्यले त्यसको प्रत्याभूति दिन सके युवाशक्तिलाई समृद्धिका लागि प्रयोग गर्न सकिन्छ । ‘जीवन आफ्ना लागि सबैले बाँच्न सक्छन्, तर अरुका लागि केही गरेर मर्नु नै महानता हो,’ हमालले भने ।

पूर्वमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापाले अनाथको अभिभावक हुने सौभाग्य प्राप्त गर्ने परोपकारी व्यक्तित्व समाजका ‘आइडल’ भएको बताए ।

गृह निर्माणकर्ता एवं अभियानकर्मी खनालले साझा हित र परोपकारी कार्य राजनीतिक आस्था र स्वार्थभन्दा माथि राखेर गर्न आग्रह गरे । क्लिन काष्ठमाण्डप अभियानका खनालले बाजुराजस्तो दुर्गम क्षेत्रमा आएर अनाथका लागि आश्रम बनाउन पाउँदा निकै खुशी लागेको बताए ।

खनालले ग्रिनसिटी अस्पतालका अध्यक्ष एवं समाज सेवी लोकबहादुर टण्डन र कलाकार राजेश हमालको साथकै कारण अनाथ आश्रम बनाउन सफल भएको बताए ।

बाल स्याहार गृह अघिल्लो वर्षको वैशाख २५ गते शिलान्यास गरिएको थियो भने उद्घाटन पनि सोही दिन गरिएको हो । भवन ५० लाख रुपैयाँ भन्दा बढी लागतमा निर्माण गरिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७