यथार्थपरक र नतिजामुखी बजेट ल्याउन पूर्व अर्थमन्त्रीहरुको सुझाव

काठमाडौं, २६ बैसाख । सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणमा जुटिरहेका बेला पूर्व अर्थमन्त्रीहरुले यथार्थपरक बजेट ल्याउन सुभलाव दिएका छन् ।
संघीय संसदको अर्थ समितिले प्रि–बजेटबारे पूर्व अर्थमन्त्रीसहित सरोकारवालाहरुसँग छलफल गरेको छ । काठमाडौंमा आज भएको कार्यक्रममा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले यथार्थपरक बजेट ल्याउनु पर्नेमा जोड दिएका छन् । उनले पुँजीगत खर्च हुन नसकेको भन्दै बजेटलाई नतिजामुखी बनाउन सुझाव दिए ।
संघ, प्रदेश र स्थानीय गरी तीनवटै तहमा बजेट खर्च हुन नसकेको कार्कीको भनाइ थियो । उनले स्थानीय सरकारले आर्थिक कार्यप्रणाली चुस्त बनाउनु पर्ने सुझाव दिएका छन् ।
पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी बजेट खर्च र राजश्व संकलनको गति दयनीय रहेको टिप्पणी गरेका छन् । उनले बजेटलाई व्यवस्थित र परिमाणमुखी बनाउनका लागि पूर्व तयारी आवश्यक रहेको भन्दै तीन तहमै सुझाव संकलन गर्न सुझाव दिए । अर्थ समितिले प्रि–बजेटको सम्बन्धमा सात वटै प्रदेशमा सुझाव संकलन गरेको छ ।