एसएसपीपछि डीआइजी सरुवाको तयारी

काठमाडौं, २७ बैशाख । महानगरीय प्रहरी परिसर काठमाडौं र अपराध महाशाखाका एसएसपी र केही डीएसपीहरुको सरुवापछि अब डीआइजीहरु पनि फेरबदल गर्ने तयारीमा आइजीपी सर्वेन्द्र खनाल छन् । डीआइजी बढुवा सिफारिस भएका एसएसपी विश्वराज पोखरेललाई प्रवक्ता बनाउने तयारी छ ।
त्यस्तै १ नम्बर प्रदेशका डीआइजी केदार रिजाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागको कामु प्रमुख हुनका लागि जोडतोडका साथ लागेका छन् । उनी प्रहरीमा ३० बर्षे सेवावधि हटाउने लबिङमा छन् । १ नम्बर प्रदेशको प्रहरी प्रमुख भए पनि उनी ३० बर्षे हटाउने चक्करमा नेताहरुकोमा धाउँदैआएका छन् । प्रहरी मुख्यालयमै सरुवा मिलाएर उनी ३० बर्षे हटाउनका लागि पहलकदमी लिन खोजिरहेका छन् । १ नम्बर प्रदेशको डीआइजीमा शेरबहादुर बस्नेतको नाम लिने गरिएको छ ।
गण्डकी प्रदेशका डीआइजी दानसिंह बोहरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अख्तियारका ठाकुर ज्ञवाली गण्डकी प्रदेशमा सरुवा हुने स्रोतको दाबी छ । ज्ञवालीको नाम १ नं प्रदेशका लागि पनि लिने गरिएको छ । प्रद्युम्न कार्की २ नम्बर प्रदेशमा नाम लिने गरिएको छ । २ नं का डीआइजी हरि पाललाई सीआइबीमा ल्याउने प्रबल सम्भावना छ ।