तीन दिन देशैभर हुरी बतास र चट्याङसहित पानी पर्ने

काठमाडौं, २८ बैसाख । केहि दिन रोकिएको वर्षात फेरि दोहोरिने भएको छ । अबको तीन दिन देशभरकै मौसम बदली भई धेरै ठाउँमा हुरी बतास र चट्याङसहित पानी पर्ने मौसमविद्ले जनाएका छन् ।
भारतको राजस्थानमा बनेको न्यूनचापीय क्षेत्र, पश्चिमी वायु र स्थानीय वायुको प्रभावले अबको तीन दिन मौसम बदली भई धेरै ठाउँमा हुरी बतास र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिएका छन् । उनका अनुसार कतै-कतै ठूलो पानी पर्न सक्छ भने कतै असिना पनि पर्ने सम्भावना छ ।
अहिले सफा भएको ठाउँको मौसम पनि बदली हुने भएपछि देशभरी बढेको गर्मी केही कम हुने उनले बताएका छन् । यता केही दिनयता भारतको राजस्थानबाटै आएको धुलो पनि पानी परेपछि हट्ने छ ।