ललितपुरका सडकमा ‘स्मार्ट’ बत्ती


२८ बैशाख २०७६, शनिबार

ललितपुर, २८ बैसाख । यात्रु र सवारी चालकले रातको समयमा समेत सहज रूपमा हिंड्ने वातावरण बनाउन ललितपुर महानगरपालिकाका मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गरिने भएको छ ।

Smart Light

महानगरपालिका र नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा महानगरका मुख्य सडकमा बत्ती जडान हुन लागेको हो । सडकबत्ती जडानले स्थानीयवासीसँगै यहाँ घुम्न आउने विदेशी पर्यटकलाई समेत सुविधा हुने महानगरले जनाएको छ ।

चालु आर्थिक वर्षभित्रमा सम्पन्न गर्ने योजनासहित ठेक्का सम्झौता भएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले बताउनुभयो । उहाँका अनुसार महानगरका पाँच मुख्य सडकमा ‘स्मार्ट’ बत्ती जडान गर्न लागिएको हो ।

कुपण्डोलबाट पुल्चोक हुँदै लगनखेल, पुल्चोकबाट मङ्गलबजार हुँदै ग्वार्काे, कुपण्डोलबाट पाटनढोका हुँदै मङ्गलबजार, एकान्तकुनाबाट बुङ्गमती र सातदोबाटोबाट धापाखेलसम्मको सडकमा बत्ती जडान गर्न लागिएको उनले बताए ।

प्राधिकरणसँग गत वर्ष पहिलो चरणमा कुपण्डोलबाट लगनखेलसम्म र दोस्रो चरणमा बाँकी सडकमा बत्ती जडान गर्ने सहमति भए पनि अहिले यी सबै सडकमा एकसाथ काम हुँदैछ । उनले भने, ‘अहिले काम शुरु भइसकेकाले केही समयमा सम्पन्न हुनेछ ।’

‘स्मार्ट’ बत्ती अरु सडक बत्तीभन्दा फरक रहेको महानगरपालिकाले जनाएको छ । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरु आउँदा आफैं बल्ने प्रवक्ता महर्जनले बताए । महानगरपालिकाले केही समय पहिले मात्रै कुपण्डोलबाट लगनखेलसम्मको सडकको बत्तीको मर्मत गरेको थियो । महानगरका कुनै पनि सडकमा बत्ती नहुँदा सडक दुर्घटनाको जोखिम बढ्दो छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७