हावाहुरीसहित अधिकांश स्थानमा पानी पर्ने

काठमाडौं, २९ बैसाख । आइतबार देशभर बदली रही केही स्थानमा मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आइतबार र सोमबार पश्चिमका थोरै स्थानमा र मध्य तथा पूर्वका धेरै स्थानमा हावाहुरी र वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
आइतबार साँझपख पश्चिमका केही भू-भागसहित मध्य र पूर्वी भू–भागमा हावाहुरीसहित पानी पर्ने सम्भावना भएको मौसमविद् मञ्जु बासीले बताइन् । पश्चिमी वायुको प्रभावका कारण मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना भएको हो ।
यस्तै आइतबार बेलुका हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको पनि मौसमविद् बासीले बताइन् । तर ठूलो हिमपातको सम्भावना नभएकाले आत्तिहाल्ने अवस्था नभएको तर हिमाल आरोहणमा जाने पर्यटकले केही सावधानी भने अपनाउनुपर्ने उनले बताएकी छन् ।
नेपालगञ्जको तापक्रम शनिबार यो वर्षकै सबैभन्दा धेरै ४३ दशमलव ५ डिग्री सेल्सियससम्म पुगेको थियो । आइतबार भने नेपालगञ्जसहित देशभरकै तापक्रम केही घट्ने अनुमान गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।