बाबुराम भट्टराईमा स्पष्ट ‘फ्रस्टेसन’ देखियो : सुरेन्द्र पाण्डे


२९ बैशाख २०७६, आईतवार
baburam surendra 1

काठमाडौं, २९ बैसाख । समाजवादी पार्टी नेपालका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आइतबारको सदन वैठकमा सरकारले ल्याउन लागेको बजेटको सिद्धान्त र प्राथमिकता ‘अर्धनिन्द्रामा लेखिएको निवन्ध जस्तै’ भन्दै गरेको टिप्पणीको नेकपा नेता सुरेन्द्र पाण्डेले कडा जवाफ फर्काएका छन् ।

बजेटको सिद्धान्त र प्राथमिकतामा डा. भट्टराईले गरेको टिप्पणी सान्दर्भिक नभई पूर्वाग्रहयुक्त भएको भन्दै डाक्टर बाबुराम भट्टराईमा फ्रस्टेसन देखिएको आरोप लगाए । प्रतिनिधिसभाको आइतबारको बैठकमा डा. बाबुराम भट्टराई लगत्तै रोस्टम पुगेका सांसद पाण्डेले डाक्टर भट्टराईमा स्पष्ट फ्रस्टेसन देखिएको बताएका हुन् ।

उनले डा. भट्टराईमा देखिएको फ्रस्टेसनलाई पुष्टि गर्न एउटा प्रसङ्गलाई अगाडि सारेका थिए । उनले सन् १९८० को दशकको प्रसंग उल्लेख गर्दै उनले भट्टराईको टिप्पणी सोही किसिमको फ्रस्टेसन जस्तै भएको तर्क अगाडि सारे ।

उनले भने, ‘१९८० को दशकमा पूर्व कम्युनिष्टहरू पनि जुन देशमा क्रान्तिहरू गर्न सकेनन् र असफल भइसकेपछि निराश मानिसहरूले नयाँ आधुनिकतावादको कुरा गर्न थाले र कम्युनिस्ट आन्दोलनको प्रवाह रोकियो । अब यो अगाडि जाँदैन भन्दै नयाँ आधुनिकतावादको कुरा गर्न थाले र क्रिटिकल मोडनिष्ट भ्युजहरू त्यस सिलसिलामा जन्म भए ।’

उनले थपे, ‘राइटिसहरूभित्र पनि एक खालका राइटिसहरूबाट विरक्तिएकाहरू लेफ्ट मुभमेण्टबाटै विरक्तिएकाहरूले यस खालका विचारहरू ल्याए तर त्यो पनि विचार कुनै नयाँ परिणाममुखी, कुनै कुराबाट त्यो निर्देशित थिएनन् वास्तवमा भन्ने हो भने त्यो एक प्रकारको फ्रस्टेसनको अभिव्यक्ति थियो। यो चिज हाम्रो देशमा पनि स्वयम् डाक्टर साबमा पनि व्यक्त हुन्छ ।’

आधा निन्द्रामा लेखिएको भन्ने डा. भट्टराईको टिप्पणी सान्दर्भिक नभएको दाबी पनि सांसद पाण्डेले गरेका छन् । उनले बजेटका सिद्धान्त र प्राथमिकताको समर्थन गर्दै उत्पादनवृद्धि, रोजगारीमा वृद्धि, निर्यात बढाउने कुरा गर्दै गर्दा क्षेत्रगत वस्तु उत्पादनको प्राथमिकतालाई विशेष ध्यान दिनुपर्ने बताए । अन्तर प्रदेशको समन्वय गर्ने गरी स्पष्ट ढंगले कानुन बनाउनुको साथै सार्वजनिक खरिद ऐनका केही आधारभूत प्रावधानलाई परिर्वतन गर्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७