तम्घासमा बोरिङबाट पिउने पानीको व्यवस्था

गुल्मी, २९ बैशाख । गुल्मीको सदरमुकाम तम्घासमा खानेपानीको हाहाकार भएपछि बोरिङबाट व्यवस्था गरिने भएको छ । सुख्खा समय शुरु भएसँगै तम्घासमा पिउने पानीको हाहाकार भइरहेको समयमा बोरिङबाट पिउने पानीको ब्यवस्था गर्न लागिएको हो ।
रेसुङ्गा नगरपालिका वडा नं– ९ को उपल्लो तम्घासमा बोरिङबाट पानी निकाली पिउने ब्यबस्था गर्न लागिएको रेसुङ्गा नगरपालिका प्रमुख डिल्लीराज भुसालले बताए ।
तम्घास बजारमा रेसुङ्गा नगरपालिकाको वडा नम्बर ३ को मज्याङ्गबाट लिफटिङ्ग गरेर पानी ल्याउन धेरै समय लाग्ने भएपछि खानेपानीको चरम समस्या तत्कालै टार्नको लागि बोरिङबाट खानेपानीको व्यवस्था गर्न लागिएको नगर प्रमुख डिल्लीराज भुसालले बताए ।
वडा नं– ९ मा रहेका ५ सय २१ घरधुरीहरुलाई पानीको व्यवस्था गर्न लागिएको र पछि अरु वडाहरुका लागि पनि व्यवस्था गर्ने जनाइएको छ । जमिनमुनि ४८ मिटर गहिराइबाट पानी निकालिएको हो । जमिनमुनिबाट पानी निकालेपछि स्थानीय हर्षित छन् ।
तम्घासमा पानीको दीर्घकालीन समस्याको समाधानमा लाग्ने गरि योजना बनाएको नगर प्रमुख भुसालले बताए । केहि समयको लागि बोरिङबाट पानीको व्यास्था गरे पनि दीर्घकालका लागि रेसुङ्गा नगरपालिका वडा नम्बर ३ को मज्याङ्गबाट लिफेटिङ्ग गरेर ल्याइँदैछ ।
लागत धेरै लाग्ने भएपछि तत्कालै पानी ल्याउन सम्भव नभएपछि बोरिङबबाट पानी निकाल्न थालिएको हो । बोरिङबबाट पानी निकाल्नको लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, तम्घासको प्राविधिक सहयोग रहेको छ ।
तम्घासमा पिउने पानीको समस्यापश्चात नगरपालिकाले ट्याङकरबाट पानी बितरण गरिरहेको छ । विभिन्न स्थानबाट ल्याएर ढुवानी खर्च उठने गरी मात्रै रकम लिएर पानी वितरण गर्दै आएको छ ।
अघिल्लो वर्षको तुलनामा तम्घासमा भएका मुलहरु सुक्दै जान थालेसँगै यस वर्ष खानेपानीको चरम समस्या देखिएको छ । तम्घास बजारमा बिशेष गरी वडा नम्बर ८ र ९ मा बढी मात्रामा खानेपानीको समस्या देखिएको छ । अरु वडाहरुमा पनि अघिल्लो वर्षको तुलनामा समस्या वढदै जान थालेको गुनासो स्थानीयले गरेका छन् ।