क्यान्सर रोगीहरुलाई सरकारले दिंदै आएको एक लाख सहयोग रोक्का


२९ बैशाख २०७६, आईतवार

काठमाडौं, २९ बैसाख । सरकारले क्यान्सर रोगीहरुलाई दिंदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोक्का भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा. पुष्पा चौधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई उपलब्ध गराइँदै आएको एक लाख रुपैयाँ आर्थिक सहायता रोक्का गरेको बताएकी छन् ।

बजेट अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरेको सचिव चौधरीले स्पष्ट पारेकी छन् । आइतबार काठमाडौमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा उनले आँखाको क्यान्सर रोगको उपचारको लागि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन भने दिएकी छन् ।

सचिव चौधरीले क्यान्सर जस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिएकी छन् । आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर शुरु गरेको कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइने छ ।

कार्यक्रममा तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा. सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आँखाको रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई त्यस रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाइन सेवामार्फत सर्वसाधारणले हेर्ने व्यवस्था गर्न पनि गम्भीर ध्यानाकर्षण गराएका छन् । यो रोग ५ वर्षमुनिका बालबालिकामा देखा पर्ने जनाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७