विश्वविद्यालय सेवा आयोगको कर्मचारी छनोटमा नातेदार र नगदलाई प्राथमिकता

काठमाडौं, ३० बैशाख । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले कर्मचारी भर्ना गर्दा नातागोता र नगदलाई आधार बनाएको खुलासा भएको छ ।

यसअघिका सेवा आयोगका अध्यक्ष प्राडा. इश्वर दत्त र सदस्य केदार घिमिरेले उपप्राध्यापकको परीक्षामा २० लाखसम्म प्रतिब्यक्ति घुस लिएर परीक्षाअगाडि नै उत्तर समेत लेखेर दिएको प्रकरण नसेलाउँदै वर्तमान अध्यक्ष चैतन्य शर्माले कर्मचारी भर्नामा नातगोता र नगद लिएको बिषय सार्वजनिक भएको छ ।

चैतन्य शर्मा अध्यक्ष भएपछि सेवा आयोगमा विगतको जस्तो बेथिति नदोहोरिने अपेक्षा गरिएको थियो । तर उनले विगतका अध्यक्ष इश्वर दत्तलाई पनि माथ गर्दै नातागोता र नगदका आधारमा कर्मचारी भर्ना गरी बदनाम भएका छन् । शर्माले गरेको कर्मचारी भर्ना प्रकरण सार्वजनिक भएपछि त्रिविमा जोगी आए पनि कानै चिरेका भन्ने उखान चरितार्थ गरेको छ ।


नातेदार भर्नाको विवरण

त्रिवि सेवा आयोगले मागेको कर्मचारीको आवश्यकताको विज्ञापनमा हजारौं नेपालीले आवेदन दिएका थिए । उनीहरुले त्रिविमा कर्मचारी छनोट पारदर्शी हुने अपेक्षाका साथ आवेदन दिएर मेहनतका साथ पढेर परीक्षा दिए । तर त्रिवि सेवा आयोगका अध्यक्ष डा.चैतन्य शर्माले कर्मचारी छनोट गर्दा नाता र आफन्तलाई मात्र प्राथमिकता दिए । पारदर्शीता भन्ने कुराको समेत लागू हुन नसकेको तथ्य र प्रमाण सहित साँघुले भर्ना गरिएका कर्मचारीहरुको विवरण प्राप्त गरेको छ । यसरी सेवा आयोगका पदाधिकारीका आफन्त, त्रिविका ट्रेड युनियन नेता र विद्यार्थी नेताका श्रीमती, सालासाली भर्ना गर्नु थियो भने किन नेपाली नागरिकहरुलाई पैसा तिरेर आवेदन दिन लगाइयो भन्ने प्रश्न ज्वलन्त रुपमा उठेको छ ।

त्रिवि सेवा आयोगले गतबर्ष शाखा अधिकृत, मुख्य कार्यालय सहायक, लेखाअधिकृत र सहायक लेखाका पदमा विज्ञापन आह्वान गरेको थियो । ती पदमा मागिएका कर्मचारीहरुको छनोट गर्दा योग्यता, क्षमता भन्दा पनि को कसको नाता पर्छ भन्ने कुरालाई प्राथमिकता दिएको कुरा सेवा आयोगले पास भएका उम्मेदवारहरुको नामावली सार्वजनिक भएपछि खुलेको छ ।
कर्मचारीहरु छनोट गर्दा त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माका नातेदारदेखि विद्यार्थी नेता र नेकपा र कांग्रेसका नेताका श्रीमती, सालासाली र भाइभतिजालाई पास गराइएको छ । सेवा आयोगले कर्मचारीहरु छनोट भएको सूचना २०७६ बैशाख २० मा निकालेको छ ।

त्रिवि सेवा आयोगका पदाधिकारीले आफ्ना छोराछोरी, साला सालीदेखि नगद लिएकाहरुलाई समेत कर्मचारी भर्ति गरेका छन् । १३ शाखा अधिकृत, ९ मुख्य कार्यालय सहायक, ३ लेखा अधिकृत र ८ सहायक लेखाका कर्मचारी भर्ना गर्दा अधिकांश सेवा आयोगका पदाधिकारीदेखि नेकपा, नेपाली कांग्रेसका नेताहरुका नातेदार छन् । त्यसपछि विद्यार्थी नेताका श्रीमतीहरु पनि छन् ।

सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले आफ्नै भतिजी पार्वती सापकोटाको नाम शााखा अधिकृत र मुख्य कार्यालय सहायक गरी २ ठाउँमा निकालेका छन् । सेवा आयोग प्रमुख परशुराम कोइरालाले आफ्नै छोरी नमिता कोइरालाको नाम शाखा अधिकृतमा निकालेका छन् । त्रिविका एमाले कर्मचारी नेता छत्र कार्कीले श्रीमती मन्दिरा बुढाथोकीलाई मुख्य कार्यालय सहायक र साली शोभा बुढाथोकीलाई लेखा अधिकृतमा जागिर खुवाएका छन् ।

नेकपाका केन्द्रीय सदस्य, काठमाडौं जिल्ला नेकपाका सचिव तथा अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष चर्चित विद्यार्थी नेता हिमाल शर्माले पनि सेवा आयोगको कर्मचारी भर्नामा आफन्तलाई जागिर खुवाएका छन् । उनले आफ्नी बहिनी सरिता शर्मालाई मुख्य कार्यालय सहायकमा जागिर खुवाएका छन् । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले छोरी सन्ध्या पौडेलका अलावा ज्वाई प्रकाश थापालाई आफ्नो रवाफ देखाएर जागिर खुवाएका छन् । पौडेलले छोरी सन्ध्यालाई सहायक लेखा र ज्वाई थापालाई मुख्य कार्यालय सहायकमा भर्ना गराएका छन् ।

नातेदारबाहेककासँग प्रतिब्यक्ति ७ लाखदेखि १० लाख रुपैयाँसम्म घुस परशुराम कोइरालामार्फत् असुली गरेर मात्र शर्माले कर्मचारी भर्ना गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्