अण्डाको मूल्य बढ्यो, अब कति पुग्यो ?


३० बैशाख २०७६, सोमबार
egg

भरतपुर, ३० वैसाख । अण्डाको मूल्य बढेपछि कृषकलाई राहत मिलेको छ । लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्न बाध्य किसानलाई नेपाल अण्डा उत्पादक सङ्घको नयाँ मूल्य निर्धारणले राहत मिलेको हो ।

सङ्घका अनुसार किसानको फार्ममा ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २५० तथा मध्यमखालको अण्डा प्रतिक्रेट रु १८० तोकिएको छ । यसअघि ठूलो अण्डाको मूल्य प्रतिक्रेट रु २०० र मध्यमको रु १३० रहेको सङघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिए । ‘उत्पादन लागत नोक्सानीमा थियो’, उनले भने ‘लागत मूल्यअनुसार अझै कम मूल्य हो’, उनले बजारमा माग बढेसँगै अण्डाको मूल्य बढेको बताए ।

वैशाख २ गतेदेखि किसानको लागत मूल्यभन्दा निकै कम निर्धारण गरी अण्डाको मूल्य रु २९० बाट घटाएर रु २०० कायम गरिएको थियो । बजारमा अण्डा स्टक रहेको र तोकेकोभन्दा कम मूल्यमा बजारमा व्यापार भएपछि सङ्घले प्रतिक्रेट रु २०० मूल्य तोकेको जनाएको थियो ।

किसानको उत्पादन लागत मूल्य प्रतिगोटा रु १० पर्छ । बजार मूल्य भने अण्डाको प्रतिगोटा रु १२ पर्छ। केही वर्षअघि अधिकतमसम्म अण्डाको मूल्य प्रतिक्रेट रु ३६० सम्म पुगेको थियो । ‘अण्डाको मूल्य घट्नेरबढ्ने भइरहन्छ, कँडेलले भने, बजारको अवस्था हेरेर २ सय ५० देखि ३ सय औशतमा मूल्य निर्धारण हुने गरेको छ ।’

कृषकबाट उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिसन खुवाउनुपर्ने भएकाले किसानले उचित मूल्य पाउन नसकेका हुन् । विचौलिया प्रभाव घटाएर कृषक र उपभोक्तालाई लाभ पुग्ने गरी मूल्य निर्धारण गर्नुपर्ने किसानको माग छ ।

एक साताअघिसम्म लागत मूल्यअनुसार अण्डाको मूल्य नपाएको भन्दै चितवनका किसान आन्दोलित भएका थिए । नेपालमा दैनिक ४५ लाख अण्डा उत्पादन हुन्छ । यस पेशाबाट प्रत्यक्षरूपमा एक लाख ५० हजार बढी व्यक्तिले रोजगारी पाएका छन् । सात हजार बढी किसान लेयर्स कुखुरापालनमा संलग्न छन् । देशमा पोल्ट्री क्षेत्रमा भएको लगानीको आधा हिस्सा लेयर्समा रहेको अध्यक्ष कँडेल बताउँछन् । पोल्ट्री क्षेत्रमा रु ८० अर्बभन्दा बढी लगानी रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७