१३ औं सागको लोगो र मस्कट सार्वजनिक


३० बैशाख २०७६, सोमबार
maskat

काठमाडौं, ३० वैसाख । १३ औं दक्षिण एसियाली खेलकुद (साग) को औपचारिक तयारी सोमबारदेखि शुरु भएको छ ।

साग खेलकुद तयारी तथा व्यवस्थापन समितिका संयोजक समेत रहेका खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले सोमबार प्रतियोगिताको लोगो तथा मस्कट सार्वजनिक गरेका छन् । ६ महिनापछि काठमाडौँ र पोखरामा हुने प्रतियोगिताका लागि तयारीको तीव्रता शुरु भएको घोषणा गरेका छन् ।

‘साग तयारी आरभ्मको सुखद शुरुवात गरेका छौँ,’ मन्त्री विश्वकर्माले मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पूर्वाधारहरू बनिरहेका छन्, प्रतियोगितामा सहभागी नेपाली टिमको तयारी छिट्टै शुरु हुनेछ र कार्यविधि निर्माण, बजेट विनियोजनलगायतका काम पनि तीव्रताका साथ अघि बढिरहेको छ ।’

गत फागुन १७ र १८ गते थाइल्याण्डमा बसेको दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले तेस्रोपल्ट नेपालमा आयोजना हुन लागेको साग खेलकुदको मिति घोषणा गरेको थियो । १३ औँ साग खेलकुद मंसिर १५ देखि २४ गतेसम्म काठमाडौँ र पोखरामा आयोजना हुनेछ ।

वैशाख २६ गते काठमाडौँमा बसेको साग तयारी तथा व्यवस्थापन समितिको पहिलो पूर्ण बैठकले लोगो, मस्कटदेखि तयारी सम्बन्धमा केही महत्वपूर्ण निर्णय गरेको थियो । सोमबार त्यही निर्णय सार्वजनिक गरिएको हो ।

सागका लागि आवश्यक पर्ने बजेटको खाका कोर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) उपाध्यक्ष पीताम्बर तिम्सिनाको संयोजकत्वमा समिति बनेको छ भने राखेप सदस्य गंगाबहादुर थापाको संयोजकत्वमा ४ सदस्यीय प्राविधिक समिति बनेको छ । बैठकले प्रतियोगिताका लागि नेपाली खेलाडी छनोट र तयारीको जिम्मेवारी राखेपलाई दिएको छ ।

साग खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीको अध्यक्ष तथा सङ्घीय सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा रहेको तीन सदस्यीय समितिले सार्वजनिक सूचनामार्फत मोरङका भोलानाथ पौड्यालले बनाएको लोगो १३ औँ सागका लागि आधिकारिक बनाउन सिफारिस गरेको थियो । ’नेपालको मौलिकता झल्कने र सहभागी सबै मुलुकको प्रतिनिधित्व हुने गरी बनेको लोगोलाई हामीले उत्कृष्ट ठहर गरी आधिकारिकताका लागि सिफारिस गरेका थियौँ,’ लोगो छनोट समितिका संयोजक श्रेष्ठले भने ।

लोगो परेवाकृतिको छ । यसमा प्रयोग गरिएको रंगले शान्तिको प्रतीक हुने गरी परिभाषित गरिएको छ । पृष्ठभूमिमा रहेको निलो रङ्गको रेखाले नेपाल चिनाउने हिमालको प्रतिनिधित्व गर्नेछ । लोगोको बायाँतर्फ रहेको प्वाँख आकृतिले परेवालाई माथि उड्ने गति प्रदान गरेको भनिएको छ ।

प्वाँखमा सात छुट्टाछुट्टै रङ्गको आकृति छ, जसले ७ राष्ट्रको प्रतिनिधित्व गर्नेछ । सातै आकृतिमा ७ राष्ट्रका झण्डाको रङ्ग प्रयोग गरिएको छ । समितिमा आएका ६ लोगोमध्येबाट उत्कृष्ट बनेको यो लोगो निर्माण गर्ने मोरङका पौड्याललाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

छनोट समितिले १३ औँ साग खेलकुदको मस्कटमा पश्चिम नेपालमा पाइने लोपोन्मुख जनावर कृष्णशारको तस्बिर प्रयोग गर्न सिफारिस गरेको थियो । ’कृष्णसार नेपालको लोपोन्मुख जनावर, तस्बिरमा हेर्दा खेलकुद र खेलाडीसँग मिल्दोजुल्दो पनि देखियो र विगतको पनि नदोहोरिने गरी हामीले सिफारिस गरेका हौँ,’ संयोजक श्रेष्ठले सुनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७