टेलिकमको नाफा १८ प्रतिशतले घट्यो


३१ बैशाख २०७६, मंगलवार
Ntc Head office Building
फाइल तस्बिर

काठमाडौं, ३१ वैसाख । नेपाल टेलिकमको खुद नाफा १८ प्रतिशतले घटेको छ । सार्वजनिक अपरिस्कृत तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीले नौ महिनामा ९ अर्ब ९८ करोड खुद नाफा कमाएको छ । गत वर्षको यस अवधिमा ११ अर्ब ८५ करोड कमाएको थियो ।

कम्पनीको आम्दानी नै घटेपछि नाफामा ठूलो गिरावट देखिएको हो । ९ महिनामा कम्पनीले कुल २७ अर्ब ५० करोड आम्दानी गरेको छ । जबकी गत वर्ष यस अवधिमा २९ अर्ब ३९ करोड आम्दानी भएको थियो ।

निजी क्षेत्रसँग प्रतिस्पर्धा बढ्नु र कम्पनीले सहुलियतपूर्ण भ्वाइस तथा इन्टरनेटका डाटा प्याकेजहरु प्रदान गर्दै जाँदा नाफामा असर परेको हो । अर्कोतर्फ सामाजिक सञ्जालमार्फत सन्देश आदानप्रदान बढ्दै जाँदा चुनौति थपिएको कम्पनीले जनाएको छ ।

कम्पनीको नाफामा गिरावट आउँदा अन्य सबैजसो सूचकहरुमा धक्का पुगेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ८८ रुपैयाँ ७५ पैसामा झरेको छ। गत वर्ष यो १०५ रुपैयाँ ३९ पैसा थियो । प्रतिशेयर खुद सम्पत्ति मूल्य (नेटवर्थ) ६७६ रुपैयाँ छ ।

१५ अर्ब सेयर पुँजी रहेको कम्पनीमा हाल ९२ प्रतिशत स्वामित्व सरकारको छ । बाँकी ८ प्रतिशत हिस्सा सर्वसाधारण तथा कर्मचारीको छ । सर्वसाधारणतर्फ सरकारले ेयर हिस्सा बढाएर २६ प्रतिशत पु¥याउने बताउँदै आएको छ ।

कम्पनीको रिजर्भमा ८६ अर्ब ४० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले प्रतिशेयर ५५ रुपैयाँका दरले लगानीकर्तालाई लाभांश दिएको थियो । कम्पनीले लगानीकर्तालाई नगद लाभांश मात्रै प्रदान गर्दै आएको छ ।

कम्पनीको नाफा बढ्न नसकेपछि धितोपत्र बजारमा यसको मूल्य समेत बढ्न सकेको छैन । एक वर्षअघि ७६० रुपैयाँ प्रतिशेयर मूल्य रहेकोमा अहिले ७१० रुपैयाँको हाराहारीमा छ ।



प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७