जुडो खेलाडी फुपुलामु खत्री र प्रशिक्षक रमेश मगरलाई प्रतिबन्ध

मगरलाई १० वर्ष र खत्रीलाई टोकियो ओलम्पिकसम्म प्रतिबन्ध


३१ बैशाख २०७६, मंगलवार
Judo 1 1

काठमाडौं, ३१ वैसाख । नेपाल जुडो संघले जुडो खेलाडी फुपुलामु खत्री र प्रशिक्षक रमेश मगरलाई लामो समयका लागि प्रतिबन्ध लगाएको छ ।

नेपाल जुडो संघको ०७५ फागुन १० गतेको बैठकले खत्री र ०७६ वैशाख २० गते बसेको बैठकले मगरलाई कार्वाही गर्दै प्रतिबन्ध लगाएको संघका अध्यक्ष दीपकहर्ष बज्राचार्यले जानकारी दिएका छन् ।

संघले जारी गरेको विज्ञप्तिमा आइओसी सोलिडाइरिटी कार्यक्रमअन्तर्गत प्रशिक्षणको निम्ति जापानमा रहेकी जुडो खेलाडी फुपुलामु खत्री समयावधि अगावै जापानको कुनै पनि निकायलाई सूचना नगरी बीचैमा प्रशिक्षण छोडेर स्वदेश फर्केको उल्लेख गरेको छ ।

यस्तै कार्यक्रम अवधिभर जापानमा प्रशिक्षणमा रहेको बेलाको रिपोर्टको आधार र जापान ओलम्पिक कमिटीले उक्त कार्यक्रम बन्द गरेको पत्र र संघको स्वीकृति उद्देश्य र हित विपरीत कार्य गरेकाले खत्रीलाई टोकियो ओलम्पिक २०२० सम्मको लागि प्रतिबन्ध लगाएको जनाइएको छ । सो अवधिसम्म खत्रीले जुडोसम्बन्धी कुनै कार्यक्रममा सहभागिता जनाउन नपाउने पनि जारी विज्ञप्तिमा उल्लेख छ ।

यसैगरी आइजेएफ एकेडेमी लेबल १ को ११ हप्ते सैद्धान्तिक परीक्षामा सहभागी भई उत्तीर्ण भएका प्रशिक्षक रमेश मगर व्यवहारिक परीक्षामा सहभागी हुन सन् २०१९ मा हंगेरी प्रस्थान गरेका थिए ।

तर मगर उक्त परिक्षामा सहभागि नभई विदेश पलायन भएपछि संघले जुडो खेलको प्रतिष्ठामा राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा आँच पुगेको भन्दै मगरलाई १०वर्षे प्रतिबन्ध लगाएको विज्ञप्तीमा जनाइएको छ । खत्रीले १२ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण र मगरले काँस्य पदक जितेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७