कानून बनाउँदा नै लुट्न सकिने ठाउँ खोजिन्छ : मुख्यमन्त्री राउत

‘भ्रष्टाचार रोक्न माथिबाटै नियत सफा हुनुपर्छ’


३१ बैशाख २०७६, मंगलवार
lalbabu

जनकपुरधाम, ३१ वैसाख । प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले भ्रष्टाचारकै कारण मुलुक बदनाम र जर्जर भइरहेको बताएका छन् ।

उनले आँखै अगाडि भ्रष्टाचार हुँदा पनि केही गर्न नसक्ने अवस्था रहेको गुनासो गरेका छन् । ऐन कानुन बनाउँदा नै कसरी झनझजटिलो र लुट्न सकिने बनाउन सकिन्छ भनेर हेर्ने गरिएको बताए । मुख्यमन्त्री राउतले सभा सम्मेलन र गोष्ठीको भरमा सुशासन कायम हुन नसक्ने बताउँदै भने, ‘भ्रष्टाचार रोक्न आफैंबाट शुरुवात गर्नुपर्छ ।’

जनकपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले विधि प्रक्रिया झनझटिलो बनाएका कारण मानिसहरुले बरु केही रकम खर्च गरेर भए पनि काम गराउने गरेको उनको विश्लेषण छ । राज्यको स्रोतमा समेत डकैती भइरहेको भन्दै उनले भने, ‘हामी अहिले सबैभन्दा भ्रष्ट मुलुकहरुको सूचीमा छौं । कुशासन र अव्यवस्था छ ।’

उनले थपे, ‘हाम्रो कुनै ऐन कानुनले हामीलाई भ्रष्टाचार गर्न भनेको छ र ? छैन । तर पनि भइरहेको छ । यो आचरण कहाँबाट आयो ?’

भ्रष्टाचार रोकेर सुशासन कायम गर्न माथिबाटै शुरुवात गर्नुपर्ने उनले बताए । मुख्यमन्त्री राउतले भने, ‘माथिबाट नियत सफल हुनुपर्छ । प्रदेशभित्र सुशासन कायम राख्न पहिले म आफैं स्वच्छ हुनुपर्छ । त्यसपछि मन्त्री, प्रशासनिक कर्मचारी आउँछ ।’

मुख्यमन्त्री राउतले अहिले लुट्ने ठाउँ यातायात कार्यालय भएको टिप्पणी गरे । ‘प्रदेश सरकारले अहिलेसम्म त्यहाँ कर्मचारी खटाउन सकेको छैन’ उनले थपे, ‘हरेक कर्मचारीलाई एकमा वीरगञ्ज, दुईमा जनकपुर, तीनमा बर्दिबास र चारमा लहान भनेर आउँछन् । किन त्यहाँ जान चाहेका छन् हामीले बुझेका छैनौं र ?’

सुशासनका कारण टाउकोमा हात राखेर रुनु पर्ने अवस्था आएको उनले बताएका छन् । राम्रो गर्नेहरुलाई बद्नाम गर्न माफियाहरु लागेको गुनासो गर्दै उनले भने, ‘कहिले काहीँ त हराएको महसुस हुन्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७