आफ्नै कीर्तिमानलाई तोड्दै कामीरिता २३ औं पटक सगरमाथाको चुचुरोमा


१ जेष्ठ २०७६, बुधबार
kamirita

सोलुखुम्बु, १ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको आफ्नै कीर्तिमान तोड्दै साहसिक आरोही कामीरिता शेर्पा २३ औं पटक सगरमाथाको चुचुरोमा पुगेका छन् ।

सोलुखुम्बु थामेका शेर्पाले बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा २३ औं पटक पाइला टेकेको आधार शिविरबाट पर्यटन विभाग पर्वतारोहण शाखाका नायब सुब्बा रामेश्वर निरौलाले जानकारी दिएका छन् ।

लामो समयदेखि आरोहण क्षेत्रमा रहेका ४९ वर्षीय शेर्पाले आफूले कायम गरेको विश्व रेकर्ड आफैले तोड्दै नयाँ विश्व कीर्तिमान कायम गर्न सफल भएका हुन् । कामीरिता शेर्पा र ओङ्दी शेर्पाले सेभेन समिट्स ट्रेक्समार्फत आरोहण गरेका हुन् ।

कम्पनीका टासी लाक्पा शेर्पाले यो राष्ट्रकै गौरवको कुरा भएको बताए । सन् १९९४ मा पहिलो पटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए ।

बौद्ध धर्मअनुसार एक महिना अघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए । यसअघि २१ पटक सगरमाथा चढिसकेका आप्पा शेर्पा र फुर्वातासी शेर्पाले आरोहणबाट सन्यास लिइसकेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७