एयरपोर्टको स्टेरलाइजबाट पसल हटाइँदा यात्रु मारमा


१ जेष्ठ २०७६, बुधबार
Nepal International Airport

काठमाडौं, १ जेठ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तिम प्रस्थान कक्ष (स्टेरलाइज एरिया) बाट अत्यावश्यक सामग्री विक्रि हुने पसल बन्द गरिँदा यात्रुहरुका मारमा परेका छन् ।

प्रश्न उठेको छ कि, एउटा विदेशी काठमाडौं उत्रिएदेखि एयरपोर्टबाटै यहाँको भद्रगोल, अव्यवस्था र बेथिती भोग्दै जान्छ । र, फर्किनेबेला त्यति नै सास्ती खेप्नु परेपछि उसले फेरि नेपाल आउँछु भन्छ कि भन्दैन होला ?

यही स्थितिका कारण विदेशीहरु ‘फेरि–फेरि नेपाल आउँछु’, हैन कि, ‘यस्तो ठाउँमा फर्किएर आउनु नपरोस्’ भन्न थालेका छन् । विमानस्थल विस्तारका नाममा स्टेरलाइजसहितका विभिन्न क्षेत्र भत्काइँदैछ । धावनमार्ग पुनःनिर्माणका नाममा विदेशबाट आउने जहाजलाई लामो समय आकाशमै वा भारतीय विमानस्थलहरुमा होल्ड गराइएको छ भने यताबाट उड्नुपर्ने जहाजको तालिका गड्बड हुन थालेको छ ।

यस्तो अवस्थामा स्टेरलाइज एरियामा बसेर उडान समय पर्खिने यात्रुलाई पानी, चिया, कफी, चुइङ्गम, बिस्कुटजस्ता सानातिना चिज चाहिएको हुन्छ । तर, आजकल त्यहाँ ती पसल बन्द गरिएका छन् । स्टेरलाइजभित्र छिरेको यात्रुले फर्किएर सामान किन्छु भन्यो भने सुरक्षाका कारण आवत–जावत गर्न दिइँदैन ।

त्यसमाथि छिर्ने र निस्कने अलग–अलग व्यवस्थाका कारण त्यो कुरा सम्भव पनि छैन । यस्तो भद्रगोल भएपछि विमानस्थलका जिम्मेवार अधिकारीहरु आफ्नो परिचय खुल्ने पास लुकाएर स्टेरलाइज छिर्नुपर्ने बाध्यता रहेको समाचार जनआस्था साप्ताहिकमा छ ।

केही दिनअघि एकजना हाकिम पाससहित स्टेरलाइज एरिया पुग्दा यात्रुको घेराउमा परेका थिए । कारण हो, पानीजस्तो अति आवश्यक चिज पनि उपलब्ध नगराइनु र त्यही कारण एकजना रक्तचापको समस्या भएका विदेशी यात्रु अर्धचेत अवस्थामा पुग्नु । यात्रुहरु भन्दै थिए, ‘यिनले दुई घुड्को पानी पिउन पाए श्वास फेरेर नेपाल छाड्थे । तर, यो स्थितिले बाँचेर फर्किने कि मरेर, टुंगो भएन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७