दार्चुलामा बल्ल पुग्यो नेपालकै बिजुली, कुमान भन्छन्, ‘नेपालकै ग्रिड खलङ्गा पुर्‍याउनु ठूलो उपलब्धी’


१ जेष्ठ २०७६, बुधबार
electricity darchula

दार्चुला, १ जेठ । दार्चुला सदरमुकाम खलङ्गामा पहिलोपल्ट नेपालकै बिजुली पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनको निर्माण सम्पन्न गरी आजबाट सञ्चालनमा ल्याएको छ । अब खलङ्गा नेपालकै विद्युत् प्रणालीमा जोडिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दार्चुलाको जिल्ला सदरमुकाममा राष्ट्रिय ग्रिड पु¥याई आफ्नै उत्पादनबाट विद्युत् आपूर्ति शुरु गर्नुु ठूलो उपलब्धि भएको बताएका छन् । ‘पहिले त्यहाँ भारतको उत्तराखण्डबाट विद्युत् आयात गरी आपूर्ति गरिरहेका थियौं, अब हाम्रै राष्ट्रिय ग्रिड पुगेको छ’, घिसिङले भने, ‘आवश्यक परेको बेला खलंगाबाट भारततर्फ विद्युत् पठाउने पूर्वाधार पनि तयार भएको छ ।’

प्राधिकरणले खलंगामा विद्युत् आपूर्तिका लागि उत्तराखण्डको लाली, जोलजीवी र हुटी विन्दुबाट ११ केभी लाइनमार्फत विद्युत् आयात गरिरहेको थियो । प्राधिकरणले विद्युत् आयात गरेवापत् उत्तराखण्ड पावर कर्पोरेसन लिमिटेडलाई मासिक करीब २५ लाख रुपैयाँ भुक्तानी गर्दै आएको थियो । खलंगा क्षेत्रमा करीब ८ हजार ग्राहक छन् ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइनअन्तर्गतको दार्जुलाको थालीगाडमा निर्माणाधीन ३३ र ११ केभी सब–स्टेसनको काम असारभित्र सकिने प्राधिकरणका अत्तरिया क्षेत्रीय कार्यालयका प्रमुख सतिश कर्णले जानकारी दिए ।

‘अहिले बलाँच–खलंगा लाइन ३३ केभीकै बनेको भए पनि सब–स्टेसनको काम केही बाँकी रहेकाले ११ केभीमा मात्रै प्रयोग गरेका छौ’, उनले भने, ‘सब–स्टेसनको निर्माण सकिएपछि लाइन पनि ३३ केभीबाटै खलंगा क्षेत्रमा विद्युत् आपूर्ति गर्नेछौं ।’ उक्त आयोजना नेपाल सरकार र प्राधिकरणको लगानीमा निर्माण भएको हो ।

बलाँच–खलंगा ३३ केभी प्रसारण लाइन निर्माण गर्न ८७ लाख ५० हजार रुपैयाँमा २०७२ चैतमा ठेक्का सम्झौता गरिएको थियो । प्रसारण लाइनको लम्बाई २५ किलोमिटर छ । वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोध, जटिल भू–बनोटलगायतले निर्माणमा केही ढिलाइ भएको कर्णले बताए ।

सब–स्टेसन निर्माणका लागि ६ करोड ८९ लाख रुपैयाँमा २०७३ कात्तिकमा ठेक्का सम्झौता भएको थियो । प्राधिकरणले ३० मेगावाटको चमेलिया जलविद्युत् केन्द्रबाट र बलाँच सब–स्टेसनमा जोडिने निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत खलंगातर्फ पठाउने छ ।

चमेलिया जलविद्युत् आयोजनाले निर्माण गरेको बलाँच सब–स्टेसनमा ८.५ मेगावाटको अपी, ८५ मेगावाटको माथिल्लो चमेलिया, १६ मेगावाटको मध्य चमेलिया, ६५ मेगावाटको कलंगा गाड र २५ मेगावाटको छत्तिगाड आयोजना जोडिने छन् ।

त्यहाँ जोडिएको विद्युत चमेलियाले नै बनाएको १३१ किलोमिटर बलाँच–अत्तरिया (कैलाली) प्रसारण लाइनमार्फत राष्ट्रिय ग्रिडमा प्रवाह हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७