कालापानीमा विदेशी फौजको अड्डा छ, त्यसलाई हटाउनु पर्छ : खनाल


१ जेष्ठ २०७६, बुधबार
Jhalnath Khanal Nekapa

काठमाडौं, १ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले कालापानीको विदेशी फौजको अड्डा नहटाएसम्म नेपाली सीमाको आफ्नो जमिन पूराको पूरा आफ्नो बनाउन कठिन रहेको औंल्याएका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले राष्ट्रियतालाई दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने समेत बताएका छन् । युवा संघको २९ औं स्थापना दिवसका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित समारोहलाई सम्बोधन गर्दै नेता खनालले नेपाली भूमि कालापानीबाट विदेशी फौज हटाउन युवाहरुलाई आह्वान गरे ।

‘अहिले पनि सुस्तामा विवादहरु छन्, कालापानीमा विदेशी फौजको अड्डा बसिरहेको छ । युवाहरु, त्यो ठाउँबाट जबसम्म विदेशी फौजलाई हटाउन सक्दैनौं र नेपालको सीमाना पूराका पूरा आफ्नो बनाउन सक्दैनौं, त्यसबेलासम्म हाम्रो राष्ट्रियता कमजोर हुन्छ’, उनले थपे, ‘राष्ट्रियता दरो बनाउन दृढतापूर्वक कदम चाल्नुपर्ने हुन्छ । हामी कसैको विरोधी होइन तर हाम्रो देशको माटो एक–एक इन्चको हिसाब किताब गरेर राख्नुपर्ने हुन्छ ।’

देशको स्वतन्त्रता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता अझै दरो बन्न नसकेको टिप्पणी गर्दै खनालले प्रश्न गरे, ‘विश्वमा २१ औं शताब्दीमा दोस्रो दशकलाई विस्तारै पार गर्दैछौं । यो अवस्थामा आइपुग्दा पनि नेपालको सीमाना के हो ?’ युवाहरुको राजनीतिक कार्यदिशा अन्तर्गत राष्ट्रियता सुधारको कार्यभार प्राथमिकतामा राख्नुपर्ने उनको भनाई थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७