आफै गर्भपतन गराउन खोज्दा १३ वर्षीया बालिका मृत्युको मुखमा, गर्भ बोकाउनेको खोजी हुँदै


१ जेष्ठ २०७६, बुधबार
garva

बाँके, १ जेठ । नेपालगञ्ज उपमहानगरपालिका–१० का १३ वर्षीया एक बालिका यौन शोषणमा परेकी छिन् ।

यौन शोषणबाट गर्भ रहन गएपछि असुरक्षित गर्भपतन गराउन खोज्दा ती बालिका अहिले मृत्युको मुखमा पुगेकी छिन् । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार, कक्षा ८ मा अध्ययनरत एलिना (नाम परिर्वतन) ले पेटमा रहेको गर्भलाई आफैँ गर्भपतन गर्न खोजेकी थिइन् ।

गर्भपतन गराउन खोज्दा जथाभावी औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुँदा उनी मृत्युको मुखमा पुगेकी हुन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार, ती बालिकाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा आइसियुमा उपचार भइरहेको छ ।

ती बालिकाले तीन महिनाको गर्भ फाल्न गर्भपतन गराउने औषधि सेवन गरेपछि अत्यधिक रक्तश्राव हुन पुगेको थियो । प्रहरी उपरीक्षक पौडेलले नेपालगञ्ज उपमहानगरपालिका–१० बाट उद्धार गरी अस्पताल भर्ना गरेको बताए ।

प्रहरीले गस्ती गर्ने क्रममा बालिकालाई रोइरहेको अवस्थामा फेला पारेको थियो । ‘बालिका र उनको परिवारसँग कुरा बुझ्दा बालिकाको अवस्था गम्भीर भएकाले तत्काल भेरी अस्पताल उपचारका लागि ल्यायौँ’, उनले भने ।

बालिकाले असुरक्षितरुपमा गर्भपतन गर्ने औषधि सेवन गराउँदा अत्यधिक रक्तश्राव भइरहेको छ । प्रहरी उपरीक्षक पौडेलले भने, ‘भेरीमा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि कोहलपुर लगेका हौँ । अहिले बालिका आइसियुमा छिन् । घटनाको गहन अनुसन्धान भइरहेको छ ।’

१३ वर्षीय बालिका के कसरी गर्भवती भइन् र उनलाई कसले वा कसरी गर्भपतन गराउन खोज्यो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पौडेलले बताए । रगतको कमी भएकी बालिकालाई बचाउन यतिबेला सबैतिर रगतका लागि आग्रह गरिएको छ । ‘एबी’ नेगेटिभ रगत समूहकी ती बालिकालाई रगतदान गर्न प्रहरीले अनुरोध समेत गरेको छ ।

अत्यधिक रक्तश्रावपछि उनको शरीरमा रगतको मात्रा कमी भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार, उनको शरीरमा दुई दशमलव चार पिन्ट रगत मात्र रहेको छ । अत्यधिक रक्तश्राव भएपछि नेपालगञ्ज भेरी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । भेरी अस्पतालमा उपचारार्थ बालिकाको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि कोहलपुर लगिएको होे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७