प्रचण्डको प्रश्न, ‘एमालेका नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाउने म चाँहि अस्थिर ?’

आफ्नो योगदानको अवमूल्यन नगर्न आग्रह


१ जेष्ठ २०७६, बुधबार
prachanda Dahal

काठमाडौं, १ जेठ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको राजनीतिमा आफूले गरेको योगदानलाई अवमूल्यन नगर्न आग्रह गरेका छन् ।

तत्कालीन एमालेको युवा संगठन युवा संघ नेपालको २९ औं स्थापना दिवसको प्रमुख अतिथी बनेका प्रचण्डले तत्कालीन एमालेका तीन नेताहरुलाई प्रधानमन्त्री बनाउने सामथ्र्य आफूले मात्र राखेको दावी समेत गरे ।

एमालेबाट प्रधानमन्त्री भइसकेका नेता माधवकुमार नेपाल र झलनाथ खनालकै अगाडि उनले भने, ‘केपी ओली, माधव नेपाल र झलनाथ खनाललाई लाइन लगाएर प्रधानमन्त्री बनाउने सामथ्र्य मैले राखेको छु ।’

मञ्च र दर्शकदीर्घामा पूर्व एमाले समर्थित नेता कार्यकर्ताको खचाखच भीडलाई सम्बोधन गर्दै उनले आफू समय अनुसार चल्ने नेता भएको समेत दावी गरे । उनले भने, ‘म आवश्यकता अनुसार हदैसम्म लचिलो बन्न सक्ने मान्छे हुँ ।’ उनले आगामी दिनमा अझै नयाँ प्रयोग गरेर मात्र मर्ने चाहना रहेको भन्दै आफूलाई साथ दिन तत्कालीन एमालेका नेता कार्यकर्तालाई आह्वान गरे ।

प्रचण्डले भने, ‘माधव नेपाल कम्युनिष्ट आन्दोलनको नेता हो, उहाँ संसदमा चाहिन्छ भनेर चिठी लेख्ने र प्रधानमन्त्री बन्ने अवस्था ल्याएको मैले हो । सबैभन्दा ठूलो पार्टीको नेता हुँदा हुँदै मैले नै झलनाथजीलाई बनाउँदा राष्ट्रिय स्वाधीनता बाँच्छ भनेर छापामार शैलीमा प्रधानमन्त्री बनाएको हुँ ।

केपी ओलीलाई संविधान बनाऊ तपाई प्रधानमन्त्री भनेको हुँ । यो पटक पनि चुनावअघि नै तपाई प्रधानमन्त्री भनेको हुँ । अब तपाईहरुले मलाई के भन्नु हुन्छ ? अस्थिर भन्नु हुन्छ कि क्या गज्जबको भन्नु हुन्छ ?’

अध्यक्ष प्रचण्डले युवाहरुको साथ पाए अझै पनि केही नयाँ प्रयोग गरेर मात्र ‘माथि जान’ मन छ भन्दै आफूलाई साथ दिन आग्रह गरे । उनले कम्युनिष्ट नेताहरुले आवश्यकता अनुसार आफूलाई परिमार्जन गर्दै जानु पर्ने बताए । मार्क्स र एंगेल्सको सिद्धान्त भन्दा बाहिर जानै हुँदैन भन्ने सोंच र चिन्तनले देश र समाजलाई गति दिन नसक्ने बताए । उनले परिस्थिति र मुलुकको अवस्थाअनुसार सिद्धान्तलाई व्यवहारिक बनाउनु पर्ने बताए ।

उनले पार्टी एकीकरणको बाँकी काम तत्कालै टुंगो लाग्ने समेत बताए । जनवर्गीय संगठनको एकीकरण जेठ ३ मै सम्पन्न गर्न आफूले अर्का अध्यक्ष केपी ओलीसँग छलफल गर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७