पाँच प्रहरीविरुद्ध नै हत्याको उजुरी


१ जेष्ठ २०७६, बुधबार
baitadi

बैतडी, १ जेठ । पाटन नगरपालिका–६ लदेडाका स्थानीयले प्रहरीको कुटाइबाट ७४ वर्षीय कमलाकान्त पन्तको मृत्यु भएको आरोप लगाएका छन् ।

मंगलबार राति कमलाकान्तका जेठा छोरा लवदेव पन्तले मदिरा सेवन गरी स्थानीयलाई गालीगलौज र हसियाँले आक्रमण गर्न थालेपछि प्रहरी लदेडा पुगेको थियो । मृतकका छोरा पन्तले हसियाँ प्रहार गर्दा स्थानीय शान्ता पन्त घाइते भएकी हुन् ।

लवदेवलाई नियन्त्रणमा लिने क्रममा कमलाकान्तलाई पनि प्रहरीले कुटेको स्थानीयले आरोप लगाएका छन् । लवदेवलाई नियन्त्रणमा लिएको एक घण्टामै कमलाकान्तको मृत्यु भएको थियो । कमलाकान्तका कान्छा छोरा प्रकाशकुमार पन्तले पाँच जना प्रहरीविरुद्ध कर्तव्य ज्यान मुद्दामा उजुरी दिएका छन् ।

इलाका प्रहरी कार्यालय पाटनमा कार्यरत प्रहरी सहायक निरीक्षक अशोकबहादुर पाल, प्रहरी हवलदारद्वय जनकसिंह धामी र सुकराम राना, प्रहरी जवान दानसिंह भण्डारी र भूपेन्द्र महराविरुद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरीले बताए ।
प्रहरीले उजुरी दर्ता गरेपछि मृतक पन्तको शवको पोष्टमार्टम गरिएको छ । ज्यान मुद्दामा आरोप लागेका प्रहरीमाथि थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७