माथिल्लो त्रिशूलीको ३० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा, भारतबाट बिजुली आयात घट्ने


२ जेष्ठ २०७६, बिहीबार
upper trishuli

काठमाडौं, २ जेठ । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजनाको ३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाको ३० मेगावाट (पहिलो युनिट) विद्युत् बिहीबारबाट राष्ट्रिय प्रणालीमा जोडिएको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नुवाकोटको किस्पाङ–५, सिम्लेस्थित स्विच यार्डको कन्ट्रोल रुममा रहेको स्विच दबाएर आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको घोषणा गरेका छन् । आयोजनाबाट परीक्षणको रुपमा विद्युत उत्पादन भइरहेको छ ।

आयोजनाको विद्युत् सिम्लेमा रहेको विद्युत् गृहबाट २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत काठमाण्डौको मातातीर्थस्थित सबस्टेसनमा जोडिएको छ । शुक्रबार साँझ ५ बजेबाट पहिलो युनिटबाट परीक्षणका रुपमा लगातार ७२ घण्टा विद्युत् उत्पादन गरिने जनाइएको छ ।

त्यसपछि उपकरण तथा सुरुङ, बाँधलगायतका संरचनाहरुको पुनः परीक्षण गरिने छ । यो परीक्षण सकिएपछि आयोजनाबाट नियमित विद्युत् उत्पादन शुरु हुनेछ । आयोजनाको दोस्रो युनिट (३० मेगावाट) असारको दोस्रो हप्ताभित्र सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ ।

कार्यकारी निर्देशक घिसिङले माथिल्लो त्रिशूली ३ ए सञ्चालनमा आएपछि कुलेखानी जलाशयको पानी बच्ने र भारतबाट आयात भइरहेको विद्युतको परिमाण घट्ने बताएका छन् । ‘लोड सेन्टर (काठमाडौं उपत्यका) बाट नजिक रहेको र हिउँदमा समेत झण्डै ४५ मेगावाट विद्युत् उत्पादन हुने भएकाले यसबाट काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई सन्तुलनमा राख्न ठूलो योगदान रहन्छ’, उनले भने ‘यसबाट उपत्यकाको विद्युत् वितरण प्रणालीमा थप विश्वसनीयता बढ्ने छ ।’

उनले त्रिशूली ३ ए पूर्णरुपमा सञ्चालनमा आएपछि आयोजनाबाट देशभित्र खपत हुने ऊर्जामा झण्डै ८ प्रतिशतको योगदान रहने जानकारी दिएका छन् । यसबाट मुख्य रुपमा हिउँदको विद्युत् माग धान्न भारतबाट आयात हुने ऊर्जा घट्ने घिसिङले बताए ।

विभिन्न समस्या झेल्दै रुग्ण बनेको आयोजनालाई निरन्तरको प्रयासबाट विद्युत् उत्पादन शुरु गर्ने अवस्थामा पुगेको हो । आयोजनाले नै काठमाडौंको मातातीर्थसम्मको २२० केभी डबल सर्किट प्रसारण लाइनको निर्माण गरेको छ । यसबाट त्रिशूली नदी बेसिनमा निर्माणाधीन र निर्माण हुने जलविद्यत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न पूर्वाधार समेत तयार भएको छ ।

कुल अनुमानित लागत १२ करोड ५८ लाख डलर रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ एक्जिम बैकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडलमा सिभिल विद्युत् गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्न चाइना गेजुवा ग्रुप अफ कम्पनीज (सीजीजीसी) सँग १४ जेठ २०६७ (२८ मे २०१०)मा ठेक्का सम्झौता भएको थियो । प्रसारण लाइनको ठेक्का चाइना वाटर एण्ड इनर्जी (सीडब्ल्यूई)ले पाएको थियो ।

१७ जेठ २०७१ (३१ मे २०१४) भित्रमा निर्माण सक्ने गरी सीजीजीसीसँग ८ करोड ९१ लाख ७८ हजार डलरमा ठेक्का सम्झौता भएको थियो । विगतमा विद्युत गृह भूमिगत बनाउने या सतही बनाउने विवाद, क्षमता बढाउने निर्णयलगायतका कारणले आयोजनाको निर्माण ढिलाइ भएको थियो । भूकम्पले गर्दा आयोजनाको निर्माण तालिका झनै बनेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७