सरिताको हत्या परिवारबाटै, श्रीमानले यसरी सुनाए घटना


३ जेष्ठ २०७६, शुक्रबार
sarita

काभ्रे, ३ जेठ । काभ्रेको मण्डनदेउपुर–६ की सरिता दुलालको हत्या परिवारबाटै भएको तथ्य खुलासा भएको छ ।

बैसाख १३ गते घरमै मृत भेटिएकी सरिताको हत्या श्रीमानसहित परिवारका सबै सदस्यबाट भएको खुलासा भएको हो । सरिताको हत्यामा उनका श्रीमान, जेठाजु र ससुरा प्रत्यक्ष संलग्न भएको तथा सासु र जेठानी संलग्न नभए पनि भूमिका देखिएको प्रहरीको निष्कर्ष छ ।

परिवारका सबै सदस्यविरुद्ध कर्तव्य ज्यानको मुद्दा जिल्ला अदालतमा दर्ता गरी आइतबार मुद्दा पेश गर्ने प्रहरीको तयारी छ । प्रहरी प्रमुख एसपी रविराज खड्काले भने, ‘हामीले हाम्रो अनुसन्धान पूरा गरेर अदालतमा अभियुक्तहरुको वयानसहित मुद्दा पेश गर्न लागेका छौं ।’

घटनामा परिवारका सबै सदस्यको कुनै न कुनै किसिमले संलग्नता देखिएको भन्दै उनले भने, ‘श्रीमान, जेठाजु र ससुराको मुख्य भूमिका रहेको अनुसन्धान र उहाँहरुको वयानबाट खुल्न आएको छ ।’

श्रीमान सुदीप दुलाल, ससुरा पिताम्बर, सासु गंगा, जेठाजु केशव र जेठानी संगीता दुलाल प्रहरी हिरासतमा छन् । उनीहरुविरुद्ध सरितामा दाजु हिरामणि दाहालले किटानी जाहेरी नै दिएका थिए ।

सरिताको श्रीमानको बयान : दाइ र बुबाले हात समाते, मैले रबरले घाँटी कसें
श्रीमान सुदीपले सरिताको हत्यामा परिवारका सबैको सलंग्नता रहेको बयान दिएको प्रहरी स्रोतले जानकारी दिएको छ । घटना भएको दिन आफूले कुटपिट गरेको र गुलेलीको रवरले घाँटी कसेको उनले बयान दिएका छन् ।

त्यसपछि दाइ र बुवा आएर हात समातेपछि आफूले गुलेलीको रबरले घाँटीमा कसेको उनको बयान छ । सरिता चिच्याउँदा आमा र भाउजु चुपचाप बसेको भन्दै उनले परिवारका सबैलाई पोलेका छन् । शिक्षण अस्पताल महाराजगञ्जको पोस्टमार्टम रिपोर्टमा पनि घाँटीमा कसेर मृत्यु भएको देखाएको छ ।

सरितासँग परिवारका सबै सदस्यको झगडा हुने गरेको समेत उनले स्वीकार गरेका छन् । सुदीप र सरिताको बिहे २०७२ बैशाख ९ मा भएको थियो तर, उनले अहिलेसम्म नागरिकता बनाएकी थिइनन् ।

सरिताले सधैं नागरिकता बनाइदिन आग्रह गर्ने र सम्पत्तिको विषयमा विवाद हुने गरेको थियो । ‘चार वर्षसम्म बच्चा नहुनु पनि घर झगडाको एउटा कारण थियो’ प्रहरीलाई दिएको बयानमा भनेका छन् । तर, परिवारका अन्य सदस्यले भने हत्यामा संलग्नता स्वीकार गरेका छैनन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७