अभिनेत्री पुजनालाई लाग्यो पैसा लिएर ताज बेचेको आरोप


३ जेष्ठ २०७६, शुक्रबार
pujana pradhan hot

काठमाडौं, ३ जेठ । भर्खरै सम्पन्न ‘द सुपर मम’ प्रतियोगितामा आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढङ्गले निर्णय गरी आफूहरुको आत्मसम्मानमा चोट पुर्‍याएको प्रतियोगितामा सहभागी प्रतिष्पर्धीहरुले बताएका छन् । उनीहरुले पाएको ताज तथा मेडल समेत आजै फिर्ता गरेको घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लबमा शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगितामा सहभागी १० प्रतियोगीहरुले आयोजकप्रति यस्तो आरोप लगाएका हुन् । नायिका पुजना प्रधानले आयोजना गरेको उक्त प्रतियोगितामा पैसाको चलखेलमा निर्णयकर्ताको निर्णयलाई बेवास्ता गरी मनोमानी ढङ्गले निर्णय गरिएको उनीहरुले आरोप लगाए । प्रतियोगितामा १६ जना प्रतिष्पर्धीहरु सहभागी भएको उनीहरुले जानकारी गराएका छन् ।

super mom

निर्णयकर्ताहरुको निर्णयलाई बेवास्ता गरी आयोजक पूजना प्रधान एक्लैले के उद्देश्यका लागि निर्णय गरिन् ? भन्दै उनीहरुले प्रश्न समेत गरेका छन् । उनीहरुले एक विज्ञप्ती जारी गर्दै भनेका छन्, ‘सात जना निर्णयकर्तामध्येबाट पनि तीन जनाको निर्णयलाई हामी आमाहरु समक्ष किन ल्याइएन ?’ आएका निर्णयहरु पनि तल–माथि गरी नम्बर घटाउने र बढाउने काम गरेको पुष्टि हुन आएको पनि उनीहरुले दावी गरे ।

आफूहरुले निर्णय माग्दा आयोजकबाट उल्टै हातपात तथा गालीगलौजको प्रयास भएको समेत आरोप लगाए । आयोजक प्रधान र उनकी आमाले उक्त प्रतियोगितालाई सुनियोजित, प्रायोजित र षड्यन्त्रमूलक ढङ्गले पहिलो र तेस्रो बनाउने पूर्व योजना भएको पनि खुल्न आएको पनि उनीहरुको आरोप छ ।

Super mom1

पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागीमध्येकी एक र प्रतियोगितामा सेकेण्ड रनरअपको ताज पाएकी र हाल ताज फिर्ताको घोषणा गरेकी अमृता शर्माले प्रतियोगिता नै धाँधलीपूर्ण र पक्षपाती भएकोले आफूहरुले पाएको ताज समेत फिर्ता गरेको स्पष्ट पारिन् । उनले भनिन्, ‘यो प्रतियोगिता समाजभित्र पिल्सिएर बसेका महिलाहरुलाई सशक्त बनाउनु थियो । तर, आयोजकको तर्फबाट महिलाहरुको भावनामाथि खेलबाड भयो । हामीहरुलाई सौन्दर्यको वस्तु बनाइयो । यसमा हाम्रो गम्भिर आपत्ति छ ।’

प्रतियोगितामा सहभागी प्रतिष्पर्धी निलम श्रेष्ठले आयोजकले आफूहरुलाई गुमराहमा राखी निर्णयकर्ताहरुको निर्णयलाई समेत अवमूल्यमन गरेको गुनासो पोखिन् । श्रेष्ठले थपिन्, ‘यो प्रतियोगितामा पैसाको चलखेलमा पहिलो विजेता बनेकी थाइल्याण्डमा बस्दै आएकी एमी कर्माचार्यको ताज नेपालमै फिर्ता गरिनु पर्छ ।’

प्रतियोगीमध्येकी एमी कर्माचार्यलाई प्रथम बनाउन र बाला राईलाई तेस्रो बनाउनको लागि सोधिने प्रश्नपत्र आउट गरिएको र प्रतियोगीकी बुहारीलाई त्यसै कार्यक्रममा सहभागी गराई सम्पूर्ण निर्णयकर्ताको निर्णय निज बुहारीले संकलन गरेको प्रत्यक्ष दर्शक र आफूहरु प्रतियोगीहरुले देखेको कुरा पनि पुष्टि हुने उनीहरुको दाबी छ ।

जारी विज्ञप्तीमा थप भनिएको छ, ‘पुजना प्रधानले आफ्नो हिट्लर शैलीमा हामी सोझा साझा आमाहरुलाई प्रयोग गरी उनको आर्थिक र सामाजिक प्रतिष्ठा कमाउन हामीलाई किन प्रयोग गरियो ।’
पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगितामा सहभागी अर्की प्रतिष्पर्धी सुष्मा कार्कीले निर्णायकहरुको नम्बरको आधारमा आफू तेस्रो हुनुपर्नेमा उपाधिविहीन बनाइएको आरोप लगाइन् । उनले शीर्ष १० भित्र पनि आउन नसक्ने प्रतिष्पर्धी एमी कमार्चार्यालाई फष्ट रनरअप र बाला राईलाई तेस्रो विजेता बनाइएको आरोप लगाइन् ।

सम्पूर्ण निर्णयकर्ताहरुको निर्णय आफूहरुलाई दिन नसकेको र आएको निर्णयहरु पनि केरमेट भएकोले आफूहरुमाथि ठूलो अन्याय भएको भन्दै प्रतियोगितामा लागेको सम्पूर्ण खर्च आयोजकले फिर्ता दिनुपर्ने उनीहरुले माग गरे । प्रति व्यक्ति १ लाख ५० हजारका दरले आफूहरुको खर्च भएको भन्दै आयोजक पुजनाले उक्त रकम फिर्ता गर्नुपर्ने उनीहरुको माग छ ।

पत्रकार सम्मेलनमा प्रशिक्षक करुणा रिजाल, प्रतियोगीहरु निलम श्रेष्ठ, सुष्मा कार्की, गीता दाहाल, लक्ष्मी श्रेष्ठ, शुभेच्छा रिमाल, विमला तिमल्सिना (नेवार), अमृता शर्मा, ईशारा थपलिया र कमला थपलिया सहभागी थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७