नेपाली किशोर इंग्लिस प्रिमियर लिग क्लबमा खेल्ने


४ जेष्ठ २०७६, शनिबार

लण्डन,जेठ ४ । बेलायतमा बस्दै आएका नेपाली मूलका जय प्रधानले वाटफोर्ड फुटबल क्लबको अन्डर १६ टिमबाट खेल्ने भएका छन्। इंग्लिस फुटबलको सबैभन्दा उपल्लो प्रिमियर लिग खेल्ने क्लबमा १५ वर्षिय जय प्रधान आबद्ध भएका छन्।

क्लब र प्रधानबीच आउँदो २०१९ २०२० को सिजनका लागि औपचारिक हस्ताक्षर भएको छ। इंग्ल्याण्डको कुनै प्रिमियर लिग क्लबमा आबद्ध हुने उनी सम्भवतः अहिलेसम्मकै दोस्रो खेलाडी हुन्। यसअघि क्रिस्टल प्यालेसमा विभेस गुरुङले मौका पाएका थिए।

वाटफोर्ड फुटबल क्लबले उनलाई छनोट गर्नुअघि विभिन्न चरणमा महिनौंसम्मको छनोट प्रक्रिया चलेको थियो । वाटफोर्डको अन्डर १६ टिममा जयले सेन्ट्रल डिफेन्डर र डिफेन्सिभ मिडफिल्डरको भूमिका निभाउनेछन्। अन्डर १६ टिमका लागि पाएको अवसर सदुपयोग गर्न सके भविष्यमा उनी मुख्य टिममै पनि छनोट हुन सक्ने सम्भावना रहनेछ ।

यसअघि उनले टोटेनहाम र वेस्टह्याम जस्ता प्रिमियिर लिग क्लबहरुमा पनि ट्रायलमा खेलिसकेका थिए। वाटफोर्डमा आबद्ध भइसकेपछि जयले सही प्लेटफर्म पाएको भन्दै मेहनत गरेर आफूलाई अब प्रमाणित गर्ने बताएका छन् ।

उनका पिता प्रसिद्ध प्रधान पनि लण्डनमा एक अध्यापक र फुटबल प्रशिक्षकका रुपमा कार्यरत छन्। आफ्नो छोराको प्रिमियर लिग क्लबसँगको आबद्धताले भविष्यमा अरु नेपाली खेलाडीहरुलाई पनि प्रेरणा दिने आशा उनले गरेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७