खुट्टा (लघु कथा)


४ जेष्ठ २०७६, शनिबार
khutta

बस बिसौनी मा बसिरहेकी त्यो नव विवाहिता माथि मेरा आँखाहरू अनायासै अडिए । मेरो छेऊको बेञ्जको कुनामा समेटिएर, संकुचित भएर, सर्माउँदै बसिरहेकी थिई ।

अनुहार राम्रोसँग देखिएको त थिएन, तर घुम्टोको छेऊबाट चियाइरहेको अनुहारको जति परिमाणमा देखिन्थ्यो, त्यही नै उसको सुन्दरताको अनुमान लगाउन पर्याप्त थियो । दुबै खुट्टामा पोतिएको बुट्टेदार रङ्ग, खुट्टाको औँलामा चाँदीको बिछिया अनि मोटो मोटो चाँदीको पाउजु उसको सुन्दरता माथि अझ प्रभाव थप्दै थियो ।

ऊसँगै उसको पति पनि बसिरहेको थियो, आँखामा कालो चस्मा लगाएर । जिङ्गरिङ्ग परेको कपाल र पहेँलो दाँतमा बिँडी तान्दै बस कुरिरहेको ऊ देख्दैमा कुरुप देखिन्थ्यो । उनीहरूलाई देख्दैमा सबैले यो भन्न सक्थे कि–‘लङ्गुरले अप्सरा भेटेछ ।’

मेरो आँखा केही बेर यता उता घुमेर फेरि त्यही नवविवाहिता माथि नै अडिन्थ्यो । उसलाई देखेर म सोच्थें कि ‘भगवानले सुन्दरता पनि कहाँ–कहाँ दिन्छन् ? यो केटीको परिवारवालाहरूले आखिर यो मान्छेमा के देखेर यति राम्री कन्या दिएछन् ?’ मलाइ मनैमन त्यो मानिसप्रति इष्र्या जागृत भएर आउन थाल्यो ।

मोरो आँखा अझै पनि त्यहिँ गएर टिकिरहेथ्यो ।

केही बेर मै बस आइपुग्यो । बस बिसौनीमा सवारीहरूको चहलपहल बढ्न थाल्यो । नव विवाहिताको पति ले म भए तर्फ हेर्‍याे र भन्यो, ‘हजुर, एकैछिन यो सामान हेरिदिनुस् है, म यसलाई बसमा राखेर आउँछु ।’ ऊ फुर्तिका साथ अगाडि बढ्यो र आफ्नी पत्नीलाई काखमा उठायो ।
अब छक्क पर्ने मेरो पालो थियो ।
सुन्दर नव विवाहिताको बिछिया, पाउजु र बुट्टेदार डिजाइनले सजाइएका दुवै खुट्टा पोलियोग्रस्त थिए ।
अनुवादकर्ता : एकदेव अधिकारी

RajKamal1

राजकमल सक्सेनाको हिन्दी लघुकथा ‘पैर’ को नेपाली अनुवाद

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७