सन्तपुरको पानी ‘कहानी’

एउटा कुवाको भरमा नेपाल–भारतको डेढ दर्जन होटल


५ जेष्ठ २०७६, आईतवार
santapur make

काठमाडौं (इलाम), ५ जेठ । खानेपानीको एउटै मात्र स्रोत बजारभन्दा तल्लो स्थानमा भएपछि इलामको मुख्य पर्यटकीयस्थल सन्तपुरका नेपाली तथा भारतीय होटलहरुले पानीको सास्ती खेप्नु परिरहेको छ ।

तीन हजार ६३६ मिटरको उचाइको जिल्लाकै उच्च पर्यटकीयस्थल सन्तपुरका होटलहरुले पर्यटकलाई पानी पुर्‍याउनका लागि दिनभर मान्छे लगाएर केहि तल रहेको कुवाबाट पानी बोकाउनु पर्ने वाध्यता छ । व्यक्तिगत लगानीमा पानी संकलन प्रविधि अपनाउन नसक्दा पानीकै कारण होटल चलाउन कठिनाइ भइरहेको उनीहरुले बताएका छन् ।

Santapur 3
पर्यटकीयस्थल सन्तपुरस्थित नेपाली होटल

‘खानेपानी समस्याकै कारण पर्यटकलाई भने जस्तो सुविधा दिन समस्या भइरहेको सुनाउँदै सन्तपुरस्थित शेर्पा स्याले (च्यालेट) होटलका नर्बू शेर्पा भन्छन्–‘नेपाल–भारत दुबैतिरका होटल व्यावसायीले नेपालतर्फ रहेको कुवाको पानीका भरमा होटल चलाउनु परेको छ ।’

यता कालापोखरीस्थित बजारमा केहि वर्षअघि कुहिरोबाट पानी संकलनका लागि संरचना निर्माण भए पनि प्राविधिक समस्याका कारण पानी संकलन भएन । पर्यटकको सधैंजसो खचाखच हुने कालापोखरीमा पनि बोकेकै भरमा होटल चलेको छ ।

Water Santapur
सन्तपुरमा नेपाल–भारतका डेढ दर्जन होटललाई धान्दै आएको नेपालतर्फको एक मात्र कुवा । भारतर्फ पानीको कुनै स्रोत छैन ।

खडेरीका कारण कुवामा पानी सुकेकाले कुवाबाट पानी भर्न पनि धेरै समय लाग्ने गरेको स्थानीयले बताउँछन् । पर्यटकीय सिजनमा दिनभर दुई जना कामदार लगाएर पानी नओसारे पर्यटकलाई पानी पुर्‍याउन नसकिने च्यालेटकी निमाफुटी शेर्पाले बताउँछिन् ।

हिउँद-बर्षा प्रायजसो हुस्सु लागिरहने सन्तपुरमा कुहिरोबाट पानी संकलन गर्न सके खानेपानीको समस्या कम हुने बताउँछन् इलामका कृषि तथा वातावरण विज्ञ योगेन्द्रमान श्रेष्ठ । उनी भन्छन्, ‘कुहिरोबाट पानी संकलन गर्न विज्ञहरुसँग परामर्श लिएर काम गर्नुपर्छ नत्र पहिलाको जस्तै लगानी मात्र खेर जान्छ ।’

यस्तै केहि जानकार भने ठूलो क्षमताको सौर्य उर्जा जडान गर्न सके खोल्साको पानीलाई पम्पिङ्ग गरी माथिसम्म तान्न सकिने पनि तर्क राख्छन् । त्यसो त बर्षातको पानी संकलन तथा भण्डारण गर्न सकेमा पनि सन्तपुर क्षेत्रमा खानेपानीको आपूर्तिमा थप टेवा पुग्ने जानकार बताउँछन् ।

पर्यटकहरुको चाप बढ्दै जाँदा भएको स्रोत समेत सुक्न सक्ने खतरा रहेको भन्दै स्थानीयले सरकारी तथा पर्यटकीय क्षेत्रमा काम गरिरहेका संघसंस्थालाई तत्काल खानेपानीको व्यबस्था गर्नका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

Santapur 2
सन्तपुरदेखि केहि मुनिको नेपालको पर्यटकीयस्थल कालपोखरीमा भारतीय र बंगाली पर्यटक

सन्तपुरमा नेपाल, भारत, वंगलादेश र तेस्रो मुलुकका पर्यटक सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायतका हिमाल अवलोकनका लागि आउने गरेका छन् । पूर्वको मुख्य पर्यटकीय गन्तव्यको रुपमा विकास भएको सन्तपुरमा सडक, विजुली, खानेपानी र स्वास्थ्य सुविधा पुर्‍याउन सके यस क्षेत्रका नेपालीले पर्यटकीय लाभ लिन सक्ने स्थानीयले बताए । यहाँ वर्षमा तीन–चार हजार जति विभिन्न देशका पर्यटक आउने गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७