सीआइबीमा प्रमुख फेरबदलको तयारी, डीआइजी पाललाई रोक्न पोखरेल सक्रिय


प्रकाशित मिति : 20 May, 2019 7:25 am


काठमाडौं, ६ जेठ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआइबी)को कार्यशैलीबाट आइजीपी सर्वेन्द्र खनाल सन्तुष्ट छैनन् । जटिल प्रकृतिका र संगठित अपराध अनुसन्धान गर्ने सीआइबीले पछिल्लो समयमा कुनै पनि केसको अनुसन्धान गर्नसकेको छैन ।

आइजीपी खनालले पदभार ग्रहणपछि सीआइबीमा खटाइएका डीआइजी नारायणसिंह खड्काको कार्यक्षमता नदेखिएपछि निरजबहादुर शाहीलाई पठाइयो । उनले पनि सीआइबीमा कुनै क्षमता प्रदर्शन गर्न सकेनन् । १ महिनाअघि सीआइबीका डीआइजी शाहीले हावादारी मौखिक उजुरीका भरमा त्रिभुवन विश्वविद्यालय महाराजगंज मेडिसिन क्याम्पसमा परीक्षा दिइरहेका विद्यार्थीहरुको खानतलासी लिए ।

डीआइजीको नेतृत्वमा १ घन्टाभन्दा बढी समयसम्म भएको खानतलासीमा कुनै पनि सूचना अनुसार कैफियत नभेटिएपछि प्रहरी फर्किएको थियो । एमडीका विद्यार्थीहरु सहभागी भएको उक्त परीक्षामा हचुवाको भरमा खानतलासी लिइएको थियो ।

विदेशी विद्यार्थी समेत सहभागी परीक्षामा ५० औं जना प्रहरी ह्वारह्वार्ती खानतलासीमा गएका थिए । उक्त परीक्षामा कसैले नक्कली विद्यार्थी सहभागी भएको सूचना दिएका थिए । तर खानतलासीमा कोही पनि नक्कली विद्यार्थी फेला नपरेपछि प्रहरीको सूचना संयन्त्र कति हल्का रहेछ भन्ने टिप्पणी भएको थियो ।

सीआइबीमा शाहीले क्षमता देखाउन नसकेपछि आइजीपी खनाल पुनः नेतृत्व परिवर्तन गरी २ नम्बर प्रदेशका डीआइजी हरि पाललाई पठाउने पक्षमा देखिएका छन् । तर २ महिना शाहीलाई नै रोकेर हालै डीआइजी बढुवा भएका प्रहरी प्रवक्ता विश्वराज पोखरेल सीआइबीमा सरुवा हुने दाउमा छन् ।

काठमाडौं परिसरमा ६ महिनाभन्दा बढी समय काम गर्न नपाएकाले उनी सीआइबीमा जाने र त्यहाँ काम देखाएर आफूभन्दा सिनियर डीआइजीहरुसँगै एआइजी बढुवाको बाटो पहिल्याउने सुरमा छन् । भर्खरै प्रवक्ता भएकाले २ महिना जति प्रहरी प्रधान कार्यालयमा बसी त्यसपछि सीआइबीमा जाने दाउ उनको छ ।

२ नम्बर प्रदेशका डीआइजी पाललाई पठाउने पक्षमा आइजीपी खनाल देखिएपछि पोखरेल जसरी पनि २ महिना रोकेर त्यसपछि आफू जाने योजनामा लागेका छन् । पालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कन्भिन्स गर्न सके उनी सीआइबीमा आउनेछन् । प्रहरी स्रोत भन्छ, पालले प्रधानमन्त्रीमार्फत् जोडबल नगरे २ महिनापछि पोखरेल नै सीआइबीमा आउने पक्कापक्की जस्तै छ, आजको साँघु साप्ताहिकमा समाचार छ ।

१ नम्बर प्रदेशका डीआइजी केदार रिजाल महानगरीय आयुक्त कार्यालयमा आउन खोजिरहेका छन् । ३० बर्षे सेवाहदको प्रावधान हटाउने र भावी आइजीपी हुनका लागि पहल गर्न उनी काठमाडौंमा आउने दौडमा छन् ।

१ नम्बर प्रदेशमा ५ नम्बर प्रदेशका पिताम्बर अधिकारीलाई पठाउने पक्षमा गृह सचिव प्रेमकुमार राई समेत सकारात्मक रहेका छन् । इन्चार्जबाट इन्चार्ज दिएकोमा बिरोध नै भए पनि उनलाई १ नम्बर प्रदेशमा पठाउने संभावना छ । आइजीपी पनि उनीसँग सकारात्मक नै छन् । ३ नम्बर प्रदेशको डीआइजीमा पूर्णचन्द्र जोशीको नाम छ । प्रद्युम्न कार्कीलाई २ नम्बर वा ५ मा पठाउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्