उज्यालो ‘इलाम’

इलाम नगदेबालीको जिल्ला, इलमीको इलाम र सूर्योदयको जिल्लाको उपनामले चिनिन्छ


६ जेष्ठ २०७६, सोमबार
design

काठमाडौं (इलाम), ६ जेठ । नगदेवालीको जिल्ला, इलमीको इलाम, सूर्योदयको जिल्लाको उपनामले चिनिएको इलाम अहिले पर्यटन विकासमा पनि उज्यालो इलाम भनेर चिनिन थालेको छ ।

नगदे खेतीको इलाम, कृषिले उकासेको जीवनशैली र विकासे काममा देखिएको एकमतो, जैविक विविधता, धार्मिक सम्पदा, विविध जातजातिका मौलिक सँस्कृति र रामसार सूचीमा सूचीकृत माइपेखरी रामसारदेखि अन्य दर्जनौ पर्यटकीय क्षेत्रहरुका कारण पर्यटनमा इलामको सम्भावना उज्यालो रहेको छ ।

सन्तपुर, माइपोखरी, धार्मिक महत्वको गजुरमुखी, सूर्योदय दृष्यावलोकनका लागि कहलिएको श्रीअन्तु, सिद्धिथुम्का, पर्यटकको घुइँचो लागिरहने कन्याम, धार्मिक आस्थाको केन्द्र पाथीभरा, सिपाही जस्तै लाइन लागेका सल्लाघारी छेउको हर्कटे र करफोक पर्यटकले आफ्नो भ्रमण सूचीमा दर्ज गर्ने स्थानहरु हुन् । नेपालमै पहिलोपल्ट चियाको खेती गरेर प्रशोधनको सीप सिकाउने डेढ सय वर्ष पूरानो चिया कारखाना पनि इलामाको अवलोकन स्थलका रुपमा पर्यटकले लिने गरेका छन् ।

धोवीधाराको नारायणस्थान, चोक बजारको माइस्थान, सिंहवाहिनी र सेतीदेवी पनि पर्यटकहरुको जमघट भइरहने स्थानहरु हुन् । इलामको माइमझुवास्थित पूर्वाञ्चलकै अग्लो दुई सय ८० फिट अग्लो टोड्के झरना पनि एक महत्वपूर्ण गन्तव्य हो । अहिले इलामलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न जिल्ला समन्वय समिति, उद्योग वाणिज्य संघ, होटल व्यवसायी, पर्यटनका क्षेत्रमा काम गर्दै आएका विभिन्न संघसंस्था, यातायात व्यवसायीहरु कम्मर कसेर लागेका छन् ।

अहिले इलामको पर्यटकीय विकासका लागि थप योग्दान पुर्‍याउने सुकिलुम्बा विमानस्थल निर्माणको काम भइरहेको छ । इलाम नगरपालिका–५ मा निर्माणाधीन विमानस्थलले इलामको मात्र नभई, पाँचथर, ताप्लेजुङ्ग र सिङ्गो पूर्वाञ्चलको पर्यटन विकासमा सहयोग गर्ने विश्वास इलामेहरुको छ । जिल्लामा भित्रिने पर्यटकहरुको भ्रमण विवरण, आगन्तुकको संस्था जानकारीका लागि जिल्ला विकास समिति इलामले ३९ लाखको लागतमा इलामको किटेनीमा पर्यटन सूचना केन्द्र समेत निर्माण गरिसकेको छ ।

यस्तै भारतीय सीमा नाका पशुपतिनगरमा पनि पर्यटन सूचना केन्द्र निर्माण भएको छ । इलामको पर्यटकीय विकासका लागि इलाम नगरपालिका कार्यालयले पनि विभिन्न पूर्वाधार विकासका कामहरुमा ध्यान दिइरहेको छ । अहिले इलाम सदरमुकामको चिया बगानमा बिसौनी घर, रेलिङ्ग, भ्यूटावर निर्माणले पर्यटक तान्ने काम गरिरहेको इलाम नगरपालिका कार्यालयले जनाएको छ ।

इलामको चियाबारी क्षेत्रमा पर्यटकलाई निःशुल्क इन्टरनेट चलाउने व्यवस्थाका लागि चियाबारी क्षेत्रलाई फ्रि इन्टरनेट जोनका रुपमा विकास गरिएको छ । इलाम आउने पर्यटकको बसाईं अवधि लम्ब्याउनका लागि कार्यालयका तर्फबाट पूर्वाधार विकास निर्माण, सूचना र संयन्त्रण निर्माणको कामका नगरपालिका कार्यालय लागिरहेको कार्यालयले जनाएको छ ।

सन्तपुरको सौन्दर्य
सामरिक महत्वको सन्तपुर इलामको मात्र नभएर पूर्वाञ्चलकै मुख्य गन्तव्य मानिन्छ । इलाम सदरमुकाम इलामबाट माइपोखरी माइमझुवा हुँदै गोरुवालेबाट सन्दकपुर पुग्न सकिन्छ । त्यस्तै माबुबबाट कालपोखरी हुँदै मोटर चढेर पनि सन्तपुर पुग्न सकिने भएको छ ।

Santapur
तीन हजार ६ सय ३६ मिटर उचाइको उचाइको सन्तपुरमा तस्विर खिचाउँदै विदेशी ।

सदरमुकामबाट करीब ४५ किलो मिटर दूरीको सन्तपुर पुग्न पशुपतिनगर, मानेभञ्ज्याङ्ग हुँदै नेपाल–भारत पर्यटन मार्गबाट पनि जान सकिन्छ । सन्तपुरमा शेर्पा च्यालेटलगायतका दुई वटा व्यवस्थित र सुविधायुक्त नेपाली होटल छन् । भारततर्फ पनि सरकारी आवास गृह छन् ।

नेपाली होटलमा नेपाली पर्यटकका लागि खान–बस्नका लागि पनि उति साह्राे महँगो पर्दैन । ३ हजार ६३६ मिटरको उचाइको सन्तपुर इलामको सबैभन्दा अग्लो स्थान हो । यहाँबाट सगरमाथा, कञ्चनजंघा, कुम्भकर्णलगायत नेपाल–भारत र भुटानसम्मका हिमश्रृंखला १८० डिग्रीमा हेर्न सकिन्छ । भारतीय नागरिकलाई सूर्योदयको दृष्य अवलोकनका लागि सन्तपुर नआई धरै छैन ।

नेपाल भारत सीमा क्षेत्र सन्तपुर सूर्योदय र सूर्यास्त दृष्यावलोकनका लागि चर्चित छ । गुराँस फूल्ने चैत महिनामा मात्र होइन हिउँ खेल्ने पुस–माघ महिनामा पनि सन्तपुरमा पर्यटकको उतिकै चहल पहल हुन्छ । नेपाल भारत, वंगलादेशका मात्र नभई तेस्रो मुलुकका पर्यटकहरु समेत सन्तपुरबाट हिमाली श्रृंखलाको सौन्दर्यमा रमाउँदै लेकाली जनजीवन र सँस्कृतिको अध्ययन गर्न आउने गरेका छन् । जडिबुटी र दुलर्भ रेडपाण्डा समेत सन्तपुरका सम्पति हुन् ।

माइपोखरीको महता
इलाम सदरमुकामबाट १३ किलोमिटर उत्तरमा पर्ने माईपोखरीमा जैविक विविधता र धार्मिक महताको स्थल हो । दुई हजार दुई सय २१ मिटर उचाइको माइपोखरी रामसार सूचीमा सूचीकृत छ । दुई सय हेक्टर जलाशयसहितको रामसार माइपोखरी धार्मिक आस्थाको केन्द्र मात्र नभई जैविक विविधताको हिसाबले पनि संवेदनशील क्षेत्र हो ।

Maipokhari
नेपालको नवौं अर्थात कान्छो रामसार माइपोखरी । माइपोखरी जैविक र धार्मिक महत्वको स्थान हो ।

लोपोन्मुख गलैंचे झ्याउ, रुख भ्यागुतो, ठकठके, विभिन्न प्रजातिका रैथाने र आगन्तुक चरा चुरुङ्गी माइपोखरी रामसार क्षेत्रमा पाइने गरेको छ । पोखरी वरिपरी विभिन्न प्रजातिका गुराँस, १६ प्रकारका सुनाखरी तथा ६२ प्रकारका जडिबुटी पाइने माइपोखरी धार्मिक वनका पूर्ण मुखिया बताउँछन् । रामसार क्षेत्रमा सूचीकृत माइपोखरीको विकासका लागि सरकारी क्षेत्रबाट भने उतिसारो चासो नगुगेको स्थानीयको गुनासो छ ।

तर, जिल्ला वन कार्यालय इलामले भने माइपोखरी क्षेत्रको विकासका लागि गुरुयोजना नै तयार गरेर काम शुरु गरेको जनाएको छ । जिल्ला वन कार्यालयले माइपोखरी संरक्षणका लागि सीमाङ्कन, वृक्षारोपण, पोखरीका लागि पानीको मुहान संरक्षणलगायतका ३२ क्रियाकलाप गर्नका लागि योजना बनाइरहेको जनाइएको छ ।

नेपालको कान्छो तथा नवौं रामसार क्षेत्र माइपोखरी र नजिकैको देउराली बजारमा पर्यटकका लागि खान बस्नका लागि होटलहरुको व्यवस्था रहेको छ । माइपोखरी आउने पर्यटकले सदरमुकामदेखि त्यहाँसम्म पुग्न गाडीका लागि एकहोरो भाडा दुई सय र खान बस्नका लागि एक रातको एक हजार रुपैयाँ प्रतिव्यक्ति खर्च बोके पर्याप्त हुने स्थानीय होटल सञ्चालक बताउँछन् । माइपोखरीका लागि हिउँद–वर्खा दिनहुँ ८–१० वटा ल्याण्डरोभर गाडीहरुले सेवा दिने गरेको पूर्वेली ट्याक्सी व्यवसायी संघका कार्यालय सचिव सुमन काफ्ले बताउँछन् ।

अगुवा अन्तु
इलामको पर्यटकीय विकासका लागि श्रीअन्तु गाविस अगुवा गाविसका रुपमा चिनिन्छ । श्रीअन्तु र समाल्बुङ्गका बासिन्दाले लगातार आठ पटक ‘श्रीअन्तु महोत्सव’ आयोजना गरी आफ्नो गाउँको प्रचार–प्रसार गरिसकेका छन् । ७ हजार ६ सय ३७ फिट उचाइमा रहेको श्रीअन्तु सूर्योदय दृष्यावलोकनका लागि उपयुक्त ठाउँ हो । श्रीअन्तुको भ्यूटावरबाट सूर्योदय हेर्ने, अन्तुपोखरीमा डुङ्गा शयर गर्ने, चिया खेती र फूल खेती, लोपोन्मुख लाप्चा जातिका संस्कृति र संग्राहलय यहाँका हेर्न छुटाउन नहुने कुरा हुन् ।

Lapcha Sangralya
इलामको श्रीअन्तुमा रहेको लाप्चा संग्राहलयका ऐतिहासिक सामग्रीहरु ।

भारतसँग कुम जोडेको श्रीअन्तुको व्यापारिक सम्बन्ध भारतीय दार्जिलिङ्ग, मिरिक, सिलिगुढीसम्म जोडिएको छ । यसैले यहाँको किसानको जीवनस्तर अन्य जिल्लाका किसानको भन्दा उच्चो छ । मेची राजमार्गको फिक्कलबाट १३ किलोमिटर गाडीको यात्राबाट पुग्न सकिने श्रीअन्तुको थप विकासका लागि अहिले अन्तुपोखरीलाई थप मर्मत सम्भार गरिएको छ ।

श्रीअन्तुका अधिकांश डाँडाहरुबाट भारतको दार्जिलिङ्ग, करसाङ्ग, मिरिकलगायतका शहरको भिलीमिली नजिकै जस्तो देखिन्छ । इलाममा होमस्टेको अभियान थाल्ने श्रीअन्तुमा आगन्तुकलाई खान, बस्नको कुनै समस्या नहुने श्रीअन्तु पर्यटन विकास केन्द्रका अध्यक्ष धनकुमार आले बताउँछन् । यहाँका दुई दर्जन बढी घरहरुमा पर्यटकलाई पाहुना जस्तै गरेर राख्ने व्यवस्था रहेको आलेले बताउँछन् । श्रीअन्तुको पर्यटकीय पूर्वाधार विकासका लागि राज्यले पनि हरेक वर्ष बजेट बिनियोजन गर्ने गरेको छ ।

काइदाको कन्याम
झापाको उखरमालो छोडेर इलामको कोल्बुङ्गस्थित किटेनी र हर्कटे नाघेपछि आउने ठाउँ हो कन्याम । दाँया–बाँया चियाका समान उचाइका चियाका गाँजलाई चिरेर लम्परासर मेची राजमार्गको चिसो हावामा गाडीभित्रबाट कावा खाँदै हिड्नुको मज्जा नै बेग्लै हुन्छ कन्याममा । कन्याम पूर्वाञ्चलकै रोजाइको वनभोज स्थलका रुपमा विकास भइरहेको छ । हरेक दिनजसो नेपाली र विदेशीहरुको कन्याममा भीडभाड लाग्ने गरेको छ । अझ शनिबारका दिन कन्यामका दुई सय भन्दा बढी पर्यटकहरुको गाडीको लस्कर लाग्ने गरेको छ ।

1 8 1
इलामको कन्याममा चियापति टिप्दै मजदुर । इलामका धेरैजसो चिया कारखानाहरु अहिले अग्र्यानिक चिया उत्पादनमा आफूलाई क्रमशः लैजादै छन् ।

यहाँ नेपाली वाहेक, भारत, वंगलादेश र तेस्रो मुलुकका पर्यटकहरुको बाक्लो उपस्थिति रहने गरेको छ । फिक्कलबाट करीब १२ किलोमिटर दूरीको कन्याम इलाम आउने सबैजसोका लागि काइदा लाग्ने गरेको सुनाउँछन् । कन्याम आउने पर्यटकका लागि खान बस्नको कुनै समस्या हुँदैन ।

कन्याम र नजिकैको फिक्कल बजारमा मध्ययन र सुविधायुक्त दुबैखाले होटलहरु पर्याप्त भएकाले पर्यटकले आफ्नो इच्छा र गच्छेअनुसारको खर्च गर्न सक्ने फिक्कलका ठाकुर शर्मा बताउँछन् । कन्याममा पर्यटकहरुलाई चियाबारी घुम्नका लागि स्थानीयले शुल्कसहित घोडाको व्यवस्था मिलाएका छन् ।

कन्याम काइदाको ठाउँ भए पनि आगन्तुकले पार्किङ्ग, सार्वजनिक शौचालय, खानेपानीको अभाव देखिएको गुनासो गर्दै आएका छन् । तर, कन्याम गाविसले पर्यटकलाई खानेपानी व्यवस्थाका लागि स्थानीय संघसस्थाको समन्वयमा गर्दै आएको छ ।

सिक्दै सिद्धिथुम्का
इलामको अर्को पर्यटकीयस्थल सिद्धिथुम्का पनि अहिले आफ्नो गाउँमा पर्यटक भित्र्याउने कामका अघि बढीरहेको छ । सिद्धिथुम्का लागि देश–विदेशमा चिनाउनका लागि स्थानीयले धेरै पटक सिद्धिथुम्का महोत्सव नै आयोजना गरिसकेका छन् ।

Gathering for sunrise scene at siddhithumka

इलाम सदरमुकाम इलामबाट करीब २० किलोमिटर दूरीको सिद्धिथुम्काले ग्रामीण पर्यटनलाई बढी जोड दिइरहेको छ । सिद्धिथुम्का डाँडा सूर्योदय र सूर्यास्त तथा हिमशृंखला र तराईका फाँटको दृष्यावलोकनका गर्न सकिन्छ । ऐतिहासिक खान्द्रुङ्ग गुफा, पञ्चमी बजार, अजम्बरे डाँडा यहाँका छुटाउनै नहुने पर्यटकीयस्थलहरु हुन् ।

यहाँ पनि पेइङ्ग गेष्ट अर्थात होमस्टे राम्ररी फस्टाएको छ । यहाँ आउने पर्यटकले पर्यटकीय क्षेत्रहरुको अनुपम दृष्यसँगै चिया खेती, फूल खेती, कृषिमा आधारित जीवनशैली र विभिन्न जातजातिको मौलिक कला संस्कृतिको अध्ययन अनुसन्धान गर्नसक्ने युवराज घोर्साई बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७