बसमा महिलाको टाउकोमा विर्यपतन काण्ड : पत्ता लाग्यो युवकको विवरण, कार्वाहीका लागि ‘पोर्न हब’ सम्म पत्राचार

काठमाडौं, ६ जेठ । केहि महिनाअघि सार्वजनिक बसमा महिलाको टाउकोमा विर्य पतन गरिएको घटनाले सबैतिर आक्रोश पैदा गर्‍यो । दिनदहाडै महिलामाथि भएको यो हदसम्मको यौन हिंसाको घटनाले सामाजिक सञ्जाल ततायो ।

महिलाले मात्रै होइन सबैले घटनाको दोषी पत्ता लगाई कडा भन्दा कडा कार्वाही हुुनुपर्ने माग गरे । घटनाका दोषीलाई पक्रिन प्रहरीलाई दवाव परेपछि प्रहरी प्रधान कार्यालयले २०७५ माघ ११ गते एउटा प्रेस विज्ञप्ति जारी गर्‍यो ।

विज्ञप्तीमा भनिएको थियो, ‘सार्वजनिक सवारी साधनभित्र गरिएको अश्लिल हर्कतसम्बन्धी भिडियोबारे सर्वसाधारण र सामाजिक सञ्जालबाट अवगत हुन आएकाले सो सम्बन्धमा सम्बन्धित इकाइहरुले सुक्ष्म अनुसन्धान गरिरहेका छन् ।’

काठमाडौंको सार्वजनिक सवारीसाधनभित्र एक युवकले महिलामाथि गरेको यौन हिंसाबारे सामाजिक सञ्जालबाट दवाबमूलक बहस उठेपछि प्रहरी प्रधान कार्यालयले सो विज्ञप्ति जारी गरेको थियो ।

झण्डै २० सेकेण्डको भिडियोमा युवकले बसको सिटमै हस्तमैथुन गरेको र महिलाको कपालमा विर्य छ्यापी दिएको देखिन्छ । देशको राजधानीमा भएको यो कुरुप घटनापछि सार्वजनिक यातायातमा महिला सुरक्षाको विषय गम्भीर बनेको थियो । सामाजिक सञ्जालमा ‘ह्यासट्याग स्टपमास्टरबुसिङ’ ट्रेन्डिङ गर्‍यो ।

सामाजिक सञ्जालबाट दवाब तीब्र भएसँगै प्रहरी प्रधान कार्यालयले विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य छिटै सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको थियो । अनुसन्धानलाई तीब्रता दिए पनि घटनाको ४ महिना बित्दा समेत प्रहरी दोषीसम्म अझै पुग्न सकिरहेको छैन । युवक को हुन् भन्ने पत्ता लगाउन सकिरहेको छैन ।

पीबोएकेटो आइडीबाट अश्लिल हर्कत
महिलाहरुको जाहेरी र भिडियो प्रमाणका आधारमा अनुसन्धान अघि बढाएको अपराध अनुसन्धान महाशाखाले भिडियोका आधारमा ढल्कु–लगनखेल रुटमा चल्ने बा २ ख ९३२६ नम्बरको सार्वजनिक बस नियन्त्रणमा लियो । युवकले सो भिडियो पहिला आफ्नो फेसबुक र त्यसपछि क्यानेडियन अश्लिल भिडियो सेयरिङ साइट पोर्नहबमा पोष्ट गरेको पत्ता लगायो ।

‘हामीसँग युवाले प्रयोग गरेको फेसबुक आइडी र जिमेल ठेगाना पत्ता लगाएका छौं,’ महानगरीय अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘अब उसको विस्तृत विवरण गुगल, फेसबुक र पोर्नहबले दिनुपर्ने हुन्छ ।’

प्रहरीमा वुमन रुम रिलोडेड, सिस्टर हुड नेपालसहित १७ महिला अधिकारकर्मीले घटनाविरुद्ध ११ माघमा जाहेरी दिएका थिए । प्रहरीले जाहेरीका आधारमा विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

अनुसन्धान गुगल, फेसबुक र पोर्नहबसम्म
घटना अनुसन्धान गर्न दवाबमा रहेको महाशाखाले जोहरी परे लगत्तै भिडियो पोष्ट गर्ने आइडी पत्ता लगायो । फेसबुक र पोर्न हबमा एउटै नाम गरेको आइडीबाट भिडियो पोष्ट गरिएको पाइएको छ । ती युवकले अश्लिल भिडियो फेसबुकमा अपलोड र पोर्न हबमा सेयर गर्न ‘पीबोएकेटो’ नाम गरेको आइडी प्रयोग गरेको भेटिएको छ ।

प्रहरी अनुसन्धान योभन्दा अघि बढ्न तीन कम्पनीबाट ती युवकको थप विवरण आवश्यक देखियो, गुगल, फेसबुक र पोर्न हब । प्रहरीले ती कम्पनीलाई सो आइडीको विस्तृत विवरणका लागि पत्राचार गरेको जनाएको छ । महाशाखाको साइबर सेलका प्रहरी निरीक्षक प्रविन ताम्राकारका अनुसार ती कम्पनीहरुले नेपाल प्रहरीलाई विवरण उपलब्ध गराएका छैनन् ।

उनले भने, ‘हामीले फेसबुक इन्क, विलो रोड, मेन्लो पार्क कार्यालय भएको फेसबुकलाई डिस्प्याच नम्बर ४४९२ रहेको पत्रमा खुलाएर ती ब्यक्तिका बिषयमा थप विवरण माग गरेका छौं’, उनले थपे, ‘गुगल र पोर्न हबलाई पनि पत्राचार गरेका छौं ।’ पोर्न हबलाई डिस्प्याच नम्बर ४४९१ र गुगललाई ४४९० राखेर पत्र सम्प्रेषण भएको छ । उनीहरुले जानकारी नपठाउँदा राजधानी यो घटनाका दोषीलाई पक्राउ गर्न नसकिरहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

Skip to toolbar