स्वास्थ्यका कर्मचारी समायोजनमा स्वास्थ्य मन्त्रीकै ‘असहमति’, १५६ सहसचिवको फाइल प्रधानमन्त्री कार्यालयमै अड्कियो


६ जेष्ठ २०७६, सोमबार
pm office

काठमाडौं, ६ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तीन तहको संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सकिएको बताइरहेका बेला स्वास्थ्य सेवा अन्तर्गतको कर्मचारी समायोजन भने अगाडि बढ्न सकेको छैन ।

स्वास्थ्य सेवाका ११ औं तहका १५६ कर्मचारीको फाइला सामान्य प्रशासनबाट मन्त्रिपरिषद्मा पुगेको छ । तर, उक्त फाइलमा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नै केही कुरामा असहमति जनाएपछि उक्त फाइलका विषयमा अझै निर्णय हुन सकेको छैन ।

स्वास्थ्यका तल्लो तहदेखि माथिल्लो तहसम्म समायोजन भएका कर्मचारीले अहिलेसम्म पत्र पाउन सकेका छैनन् । सामान्य प्रशासनले सबैभन्दा पहिला ११ औं तहका कर्मचारीको समायोजन सकेर पत्र दिने बताए पनि अहिलेसम्म उक्त काम पनि अगाडि बढ्न सकेको छैन ।

उपप्रधानमन्त्रीले नै केही बुँदामा असहमति जनाएपछि स्वास्थ्यका ११ औं तहका कर्मचारीको समायोजनको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अड्किएको स्रोतले जानकारी दिएको छ । स्वास्थ्यमन्त्री यादव विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन स्विजरल्याण्डको जेनेभा गइसकेका छन् । त्यसकारण यो विषयमा निर्णय हुन अझै केही दिन लाग्ने निश्चित छ ।

सामान्य प्रशासनले पठाएको १५६ जनाको समायोजनको फाइलका विषयमा मन्त्रिपरिषद्बाट भने निर्णय भइसकेको छ । तर, उक्त निर्णयपछि मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गर्ने समयमा मन्त्री यादवले केही कुरामा असहमति जनाएपछि हस्ताक्षरको काम रोकिएको स्रोतको दावी छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री यादवले राखेको असहमतिका विषयमा कुरा भइसकेको छ । मन्त्री यादव जेनेभाबाट फर्किए लगत्तै समायोजनको पत्र पठाउने काम अगाडि बढ्ने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७