‘शहरिया’ को आलोचना खेपेकी साम्राज्ञी ‘रातो टीका निधारमा’ मा गाउँले भूमिकामा


६ जेष्ठ २०७६, सोमबार
samragyee r l shah

काठमाडौं, ६ जेठ । अभिनेता अनमोल केसी स्टारर फिल्म ‘ड्रिम्स’ बाट शानदार डेब्यू गरेकी साम्राज्ञी आरएल शाह अहिलेकी मोस्ट डिमान्डेड र महँगी अभिनेत्री मध्येकी एक हुन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कायरा’ मा अभिनेता आर्यन सिग्देलसँग रोमान्स गर्न १० लाख बुझेकी उनले हालै छायांकन सकिएको फिल्म ’मारुनी’ मा १५ लाख पारिश्रमिक पाइन् । यसमा उनले अभिनेता पुष्प खड्कासँग रोमान्स गरेकी छन् ।

अभिनेता सरह पारिश्रमिक बुझ्ने उनले दशैंमा प्रदर्शनमा आउन लागेको निर्देशक अशोक शर्माको फिल्म ‘रातो टीका निधारमा’ मा १६ लाख बुझेकी छन् । ‘कायरा’ बक्सअफिसमा असफल भए पनि पारिश्रमिक नघटाएकी उनले यसअघि अशोकको फिल्म ’जय भोले’ समय व्यस्तताका कारण गर्न पाएकी थिइन् । फिल्म वृतमा भने उनले गाउँले भूमिका भएका कारण रिजेक्ट गरेको चर्चा चलेको थियो ।

तर, यसको निर्देशक शर्मा र अभिनेत्री शाह दुबैले खण्डन गरेका थिए । साम्राज्ञीले ’जय भोले’ मा काम गर्न नसक्नुको पछाडि गाउँले भूमिका नभएर समय व्यस्तता रहेको बताएकी थिइन् । आफू गाउँले भूमिकामा काम गर्न पनि तयार रहेको उनको भनाई थियो । अन्ततः ‘रातो टीका निधारमा’ मा साम्राज्ञी र अशोकको टिमअप भएको छ । यस फिल्ममा साम्राज्ञी गाउँले भूमिकामा प्रस्तुत हुँदैछिन् ।

यो फिल्ममा उनले निर्देशक शर्माका छोरा अंकितसँग रोमान्स गर्दैछिन् । आइतवार फिल्मको औपचारिक निर्माण घोषणा कार्यक्रममा अभिनेत्री साम्राज्ञीले आफूलाई फिल्मको स्क्रिप्ट औधी मन परेका कारण काम गर्न राजी भएको बताइन् ।

उनी भन्छिन्, ‘मैले पहिलो पटक स्ट्रोङ रोल पाएकी छु । नेपालमा महिलाप्रधान फिल्महरु खासै बनेका छैनन् । यो पूर्ण महिलाप्रधान फिल्म हो ।’ आफू सधैं बोल्ड क्यारेक्टर मात्र गरेर बोरिङ भइसकेको पनि उनी बताउँछिन् ।

‘म अरु क्यारेक्टर पनि गर्न सक्छु भन्ने सधैं लागिरहन्थ्यो । हरेक कलाकारलाई सधैं भिन्न–भिन्न रोल गर्न मन हुन्छ, त्यो मलाई पनि थियो र छ । ‘रातो टीका निधारमा’ बाट अशोक दाइले मलाई प्ल्याटफर्म दिनु भएको छ । मैले गर्न खोजेको क्यारेक्टर यसमा पाएकी छुँ’, उनी खुशी देखिइन् । उनले अहिले आफूलाई राम्रो स्क्रिप्ट आइरहेको पनि बताइन् ।

उनी अगाडि भन्छिन्, ‘मलाई पहिला सधैं एउटैखाले क्यारेक्टर गर्‍यौ भन्ने प्रतिक्रियाहरु आउने गर्दथे । मलाई पनि भिन्न रोल गर्न मन थियो । तर, सधैं एउटैखाले मात्र स्क्रिप्ट आउने गथ्र्यो । नभए त्योभन्दा खत्तम आउथ्यो । मलाई फिल्म छनोट गर्नै गाह्रो हुन्थ्यो । यसपालि भने राम्रो–राम्रो स्क्रिप्टहरु आइरहेको छ । ‘रातो टीका निधारमा’ को स्क्रिप्ट सुनेपछि मलाई बेग्लै लाग्यो । किनकी, मैले आजसम्म त्यस्तो क्यारेक्टर गरेकै छैन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७