खुल्दै पाँचथर हत्या काण्डको पर्दा : आत्महत्या गरेका मानबहादुरको माइत बस्दै आएकी श्रीमतीसँग ‘खटपट’

काठमाडौं, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३, आरुबोटेमा ९ जनाको सामुहिक हत्या प्रकरणमा मृत्तककै आफन्त मानबहादुर माखिमको संलग्नता रहेको प्रहरीले प्रारम्भिक अनुमान लगाइरहेका बेला घटनाका थप रहस्यहरु खुल्न थालेका छन् ।

सोही गाउँपालिकाको वडा नम्बर–७ स्थित रुखमा झुण्डिएको अवस्थामा मानबहादुर माखिमको शव फेला परेपछि हत्यामा उनकै संलग्नता रहेको हुनसक्ने प्रहरी भन्दै प्रहरीले हत्याको अनुसन्धान उनीतर्फ बढाएको छ ।
एक स्थानीयका अनुसार रुखमा झुण्डिएर आत्महत्या गर्ने माखिम मृतक ७४ वर्षीय बमबहादुर फियाकका कान्छा ज्वाई हुन् ।

मानबहादुर र ३६ वर्षीया श्रीमती जस्मिता फियाकबीच विगत केही महिनादेखि पारिवारिक विवाद हुँदै आएको स्थानीयले जानकारी दिएको प्रहरीले जनाएको छ । पारिवारिक विवादका कारण श्रीमती माइतीमा बस्दै आएकी थिइन् । सामान्य परिवारका मानबहादुरको श्रीमतीसँग राम्रो सम्बन्ध नभएको र झगडा भइरहने गरेकाले सम्बन्ध विच्छेदको अन्तिम तयारी समेत चलिरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सामुहिक हत्या र मानबहादुरको आत्महत्या घटनाबारे सुक्ष्म तरिकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपी अनुसन्धान कार्य भइरहेकाले अहिले नै मानबहादुरले हत्या गरेको हो भनेर निचोडमा पुगिहाल्न नमिल्ने घटनास्थलमा रहेका प्रहरीले बताएका छन् ।

हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो । १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् । उनी गम्भीर घाइते छिन् ।

मध्यरात भएको घटना स्थानीयवासीले बिहानमात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्