मिडिया काउन्सिल विधेयकलाई लोकतन्त्रले चिन्दैन, हामी पढ्नै चाहन्नौं : कांग्रेस

काठमाडौं, ८ जेठ : प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मिडिया काउन्सिल विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । प्रेसलाई नियन्त्रणको लागि मिडिया काउन्सिल विधेयक ल्याइएको भन्दै कांग्रेसले सदनमा प्रवेश नै नगराउन माग गरेको हो ।

संसदको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सचेतक पुष्पा भुसालले संविधानको मुल्य, मान्यता बिपरित आएको विधेयक पढ्नै नचाहेको बताइन् । यो विधयेकलाई लोकतन्त्रले नचिन्ने उनको जिकिर छ ।

भनिन्, ‘प्रेसको अधिकार कुण्ठित गर्नेगरी विधेयक तर्जुमा गरेको छ, त्यो विधेयक कुनै हालतमा संसदबाट अगाडि बढाउन सक्दैन । मिडिया काउन्सिल विधेयक हाम्रो लोकतन्त्रले चिन्दैन । हामीले बुझ्दैनौं, पढ्न चाहँदैनौं। त्यो फिर्ता लिन माग गर्दछौं ।’

भुसालले विधेयकले जनताको अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न लागेको आरोप लगाइन् । उनले भनिन्,‘सरकारले राज्य नियन्त्रित कानुन बनाउन खोजेको छ । सरकारको विरूद्धमा जनताले अभिव्यक्ति दियो भने शासनविरूद्ध आवाज उठाए, आवाज दबाउनका लागि लोकतन्त्रलाई भय र त्रासको वातावरण बनाउन जुन किसिमको विधेयक प्रवेश गराएको छ त्यसको घोर भत्सर्ना गर्न चाहन्छौं ।’

यो विधयेकमा सरकारको नियतमा खोट देखिएको उनको दाबी छ । ‘मिडिया काउन्सिल ऐन कुन नियतबाट ल्याइएको छ । सरकारको नियत स्पष्ट छ । भ्रष्टाचारविरूद्ध कलम चलाउने, लोकतन्त्र र सुशासनमा उठ्ने प्रश्न र आवाज बुलन्द गर्नेलाई कुण्ठित गर्नका लागि काउन्सिल ऐन आएको छ ।’

कांग्रेस सांसदहरूले आवाज उठाएलगत्तै सभामुख कृष्णबहादुर महराले सरकारका मन्त्रीहरूको ध्यानाकर्षण गराएका छन् । महराले भने, ‘मन्त्रीहरू उपस्थित हुनुहुन्छ, सरकारको यथेष्ठ ध्यान गएकै हुनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्