दुई तिहाइ भएकै बेला संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेरौं : झलनाथ खनाल


८ जेष्ठ २०७६, बुधबार
jhalanath khanal

इलाम, ८ जेठ । नेकपाका वरिष्ठ नेता झलनाथ खनालले संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेर्नु पर्ने बताएका छन् ।

इलाममा मंगलबार नेकपाको जिल्ला कमिटी र स्थानीय तहका अध्यक्ष र सचिवलाई शपथ खुवाउने कार्यक्रममा उनले दुईतिहाइको सरकार भएकै बेला संसदीय व्यवस्था र निर्वाचन प्रणाली फेर्न प्रस्ताव गरेका हुन् ।

उनले अहिलेको अहिलेको निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै त्यसलाई पनि बदल्नु पर्ने बताए । ‘संविधानले परिवर्तनको सबै बाटो खुला गरेको छ,’ पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले भने, ‘साम्यवादसम्म पुग्न संविधानले ढोका खुला गरेको छ ।’

‘निर्वाचनको खर्च नियन्त्रण भएन भने हाम्रो लोकतन्त्र श्रमिक जनताको लोकतन्त्र हुँदैन, यो धनाढ्यहरूको पुँजीवादी लोकतन्त्र हुन्छ’ ‘पुँजीवादी लोकतन्त्रको फन्का मारेर साम्यवादमा पुगिँदैन ’ उनले भने ।

खनालले सुरुमा आफूले केही हजारमा चुनाव लडेको बताउँदै अहिले लाख कटेको बताए । अब यसरी बढ्ने हो भने चुनाव लड्न नसकिन्ने बताए । उनले भने, ‘सुरुमा केही हजारमा चुनाव लडेको थिएँ । त्यो खर्च विस्तारै लाखतिर पुग्यो । विगतमा आच्छुआच्छु हुँदै लाखमा चुनाव लडियो, कति लाख ? भन्न जरुरी भएन । अब कुनै पनि निर्वाचन क्षेत्रमा लाखमा चुनाव लड्न सकिँदैन । यसलाई नियन्त्रण गर्नुपर्छ ।’

नेता खनालले पार्टी एकीकरण गर्दा मातहतका कमिटी विघटन गर्नु ठिक नभएको समेत बताए । उनले आठ लाख पार्टी सदस्य एक वर्ष निष्क्रिय रहनुपरेकाले त्यसले पार्टीलाई नोक्सान भएको दाबी गरे ।

नेकपाका दुई अध्यक्षले पार्टी एकीकरणमा पर्याप्त समय दिन नसकेकाले एकीकरण प्रक्रिया पूरा नभएको उनले टिप्पणी गरेका छन् । ‘बसेर काम गर्दा चाँडै टुंगिन्छ, अध्यक्षद्वयले समय दिन नसकेकाले एकीकरण प्रक्रिया लम्बिएको छ,’ नेता खनालले भने, ‘एकीकरणको दस्तावेज प्रकाशित हुन बाँकी छ, पोलिटब्युरो र सल्लाहकार समिति गठन हुन सकेको छैन ।’ चाँडोचाँडो मिटिङ बस्ने हो भने जेठ महिनाभित्रमै एकीकरण प्रक्रिया पूरा हुने खनालको भनाइ थियो ।

नेपालमा ५६ वर्षमा जनवादी क्रान्ति सफल भएको बताउँदै नेता खनालले समाजवाद प्राप्तिका लागि तीनै तहको सरकारले इमान्दार भएर काम गर्नुपर्ने जिकिर गरे । उनले स्थानीय र प्रदेश तहमा निर्वाचित प्रतिनिधिलाई प्रभावकारी रूपमा काम गर्न निर्देशनसमेत दिए । वैचारिक एकतापछि दुई पार्टीबीच राजनीतिक र सांगठनिक एकता भएकाले त्यसलाई कसैले पनि तोड्न नसक्ने उनको दाबी थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७