अमेरिकाको डलासमा साकेला उभौली मनाइयो


८ जेष्ठ २०७६, बुधबार
sakela ubhauli USA texas 6

अमेरिका (डालास), ८ जेठ । किरातीहरुको महान चाड साकेला उभौली अमेरिकाको टेक्सस राज्यको डयालसमा धुमधाम मनाइएको छ । येलेदोङ् ५०७९को अवसरमा किराँत राई सोसाइटी अफ अमेरिका टेक्सस च्याप्टरको आयोजनामा मे १८ मा साकेला उभौली मनाइएको हो ।

साकेलामा टेक्ससको विभिन्न सघं संस्था र समुदायको सहभागिता तथा ऐक्यबद्धता रहेको थियो । २०७५ को उधौलीमा टेक्ससमा पहिलो पल्ट साकेला मनाएको थियो ।

सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य तथा समृद्धिको शुभकामना आदान–प्रदान गर्दै साकेला मनाएको किराँत राई सोसाइटी अमेरिका टेक्सस च्याप्टरले डलासमा उभौली आयोजना गरेको अध्यक्ष दिलीप राईले बताए ।

नेपाली इतिहास र पहिचानलाई अमेरिकामा जोगाई राख्न उभौली र उधौली चाडलाई भव्य रूपमा संस्थाले विभिन्न सहरहरूमा मनाउँदै आएका बताउँदै प्रमुख अतिथि मणि वाङ्देलले भने, ‘हाम्रा सांस्कृतिक, प्रथाजन्य सामाजिक परम्परा, मूल्य र मान्यताका तथा विविधतालाई गाँसेर सामाजिक सद्भाव फैलाउँदै जानु पर्छ ।’

‘बालकदेखि वृद्धासम्म एउटै लहरमा गोलाकार बनाइ सामूहिक रूपमा नाचिने नृत्यले यो आदिवासी जातिको सामूहिक भावना प्रदर्शन गरेको छ ।’ संस्थाका वरिष्ठ उपाध्यक्ष खगेन्द्र राईले भने, ‘हाम्रा संस्कार संस्कृति र पहिचानले हामीबिचका सामाजिक, सांस्कृतिक विविधताको अनुपम एकता र प्रगाढता बढाएको छ ।’

प्रकृतिलाई पुजाआजा गरे बालीनाली सप्रन्ने प्रकृति पुजक किराँत समुदायको विश्वास रही आएको छ । साकेला थानमा पितृ र भूमिको पूजा गरेपछि साकेला सिलीको भाकामा हात र खुट्टाले भाका सिली टिप्दै साकेला नाच्न सुरु गरिन्छ । यो पर्व अन्नबाली छर्ने बेला अर्थात् वैशाख र अन्नबाली भित्रयाउने बेला मङ्सिर पूर्णिमामा २ पटक मनाउने चलन छ ।

मे २५ मा किराँत राई सोसाइटी अफ अमेरिका न्यूर्योक च्यापटरलेसमेत न्यूर्योकको क्युन्सब्रिज पार्कमा उभौली आयोजना गर्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७