सावित्रा चम्केपछि सेथुलाई इन्डियन वुमन्स लिगको उपाधि


८ जेष्ठ २०७६, बुधबार
Sabitra Bhandari 1

काठमाडौं,जेठ ८ । नेपाली फरवार्ड सावित्रा भण्डारीको उत्कृष्ट प्रदर्शनमा सेथु फुटबल क्लबले इन्डियन वुमन्स लिगको उपाधि जितेको छ । बुधबार लुधियानामा भएको फाइनल खेलमा सेथुले मणिपुर पुलिस स्पोर्ट्स क्लबलाई ३-१ ले पराजित गर्दा सावित्राले २ गोल गरिन् ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा सेथु १-० ले पछाडी रहेको थियो । खेलको ४३ औं मिनेटमा मणिपुरकी राधारानी देवीले गोल गर्दै अग्रता दिलाएकि थिइन । उनले हेडरमार्फत गोल गरेकी थिइन् । सेथुले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्ने सुवर्ण अवसर प्राप्त गरेपनि आशालता देवीको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

दोस्रो हाफको ५६ औं मिनेटमा सेथुले खेल बराबरीमा ल्यायो । सावित्राले मिडफिल्डबाट उपलब्ध गराएको लामो पासमा ग्रेसले दिएको क्रसमा इन्दुमथीको प्रहार मणिपुरकी उपमति देवीलाई लाग्दै आफ्नै पोस्टमा छिरेको थियो । अग्रता लिएपछि लगातार आक्रमणमा उत्रिएको सेथुले अग्रता लिन धेरै समय कुर्नु परेन ।

बराबरी गोल फर्काएको ४ मिनेटपछि नै सावित्राले सेथुलाई अग्रता दिलाइन् । उनले दाङमेई ग्रेसको पासलाई पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । खेलको ७० औं मिनेटमा सावित्राले सेथुको अग्रता दोब्बर पारिन् । उनले इन्दुमथी कासिरेथानको पासलाई सदुपयोग गर्दै गोलरक्षकलाई कुनै मौका दिईनन् । थप समयमा गोल नहुँदा सेथुले पहिलो पटक प्रतियोगिताको उपाधि जित्न सफल रहयो । सावित्राले प्रतियोगिताका ७ मध्य ६ खेलमा गोल गर्न सफल रहिन् । उनले प्रतियोगितामा ३ ह्याट्रिकसहित कुल १५ गोल गरिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७